arrow

मेलम्चीको पानी एक कथा : काठमाडौं आउने तिथि सर्‍यो ६ महिना

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
melamchi--water-supply.png

चौतारा । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै ६ महिना पर्खनुपर्ने भएको छ । सरकारले यो दशैँमा काठमाडौं उपत्यकावासीलाई मेलम्चिको पानी खुवाउने भाका राखेको थियो । यद्यपि, त्यो भाका पूरा हुन सकेन । अव त्यो तिथि नयाँ वर्षलाई सरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय लाग्ने भएकाले राजधानीवासीलाई पानी वितरण गर्ने काम २०७५ वैशाखमा मात्र सम्भव हुने मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए ।

हाल चार ठाउँबाट दैनिक सरदर १६ मिटर सुरुङ खन्ने काम भइरहेको छ । सुरुङको काम हालसम्म ९४ प्रतिशत सम्पन्न भएको छ । सिन्धु पहुँचमार्गमाथि रहेको भू–भागमा सबैभन्दा कमजोर चट्टान भेट्टिएकाले समस्या उत्पन्न भएको उपकार्यकारी निर्देशक दुवाडीले बताए ।

प्रथम चरणमा दैनिक १७ करोड लिटर पानी उपत्यकामा लगिने २७.५ किमी सुरुङको तीन पहुँचमार्गमध्ये सिन्धुबाट सुन्दरीजलसम्मको सबैभन्दा लामो ९.५ किमी पर्छ । पानी लगिने खास सुरुङ २६ किमी भए पनि विभिन्न ठाउँमा पहुँचमार्ग बनाउनुपर्दा १.५ किमी बढी खन्नुपरेको हो ।

झण्डै तीन दशकदेखि व्यापक चर्चामा रहेको सो आयोजनाको सुरुङ निर्माण गर्न सन् २००९ मा पहिलो सम्झौता भएको थियो । चीनको १५ रेल्वे ब्युरोसँग झण्डै साढे चार अर्बमा ठेक्का सम्झौता भएकामा विभिन्न बहानामा काममा ढिलाइ गरी सम्पन्न गर्ने समयसम्म जम्मा ६ किलाेमिटर मात्र सुरुङ खनिएपछि सन् २०१२ मा ठेक्का तोडिएको थियो ।

त्यसपछि जुलाई २०१३ मा इटालियन कम्पनी सिएमसीसँग  सात अरब ७२ करोडमा सन् २०१६ सेप्टेम्बरसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । भूकम्प र भारतीय नाकाबन्दीले लामो समयसम्म काममा अवरोध आएपछि सन् २०१८ मार्चमा सम्पन्न हुने गरी संशोधित सम्झौता भएको आयोजनाले जनाएको छ ।

काठमाडौँ उपत्यकाको जनसंख्यालाई दृष्टिगत गरी थप पानी ल्याउन दोस्रो र तेस्रो चरणमा रहेको सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– २ र ३ मा रहेको लार्के र याँग्री आयोजनाको विस्तृत आयोजना प्रतिवेदनको काम आगामी चार महिनाभित्र टुंगिने भएको छ । साविक जिविसले मेलम्ची बजारदेखि साविक बरुवा गाविससम्म १५ किमी सडक पहिले नै निर्माण गरिसकेको छ ।

मुहान रहेको लार्के र याँग्री पुग्न पाँच मिटर चौडाइको १० किलोमिटर सडकको बाटो आयोजनाले निर्माण गरिसकेको छ । त्यसलाई स्तरोन्नति गर्न अब दुई, तीन महिनाभित्र बोलपत्रको सूचना प्रकाशन गरिने दुवाडीले जानकारी दिए ।  दोस्रो र तेस्रो चरणबाट दैनिक १७–१७ करोड लिले थप ३४ करोड लि पानी राजधानी भित्रिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ