उड्डयन प्राधिकरणका महानिर्देशक गौतम मन्त्रालय तानिए
जाँदाजाँदे मन्त्री देवले गरे यस्तो निर्णय
प्रकाशित २०७४ असोज १० मंगलबार
875
Shares
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएका छन् ।
महानिर्देशक गौतमलाई मंगलबारबाट लागू हुने गरी मन्त्रालयमा हाजिर गराइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । दुई वर्षअघि महानिर्देशकमा चार वर्षका लागि नियुक्त हुनुभएका गौतमलाई पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको (मन्त्रिस्तरीय) निर्णयबाट मन्त्रालय तानिएको बताइएको छ ।
मन्त्रालय तानिएका गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको सदस्यमा उपसचिवद्वय प्रमोद नेपाल र निराजन घिमिरे छन् । यो कार्यदललाई नेपाल सरकारको हवाई नीति २०६३ लाई पुनरावलोकन गरी नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारमा अवलम्बन गर्नुपर्ने नीति र गर्नुपर्ने कार्यबारे सुझाव पेस गर्ने जिम्मेवारी दिएको छ ।
यसैगरी दोस्रो अन्तरराष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि कोरियन कम्पनी एलएमडब्ल्युले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन अध्ययन गरी भुक्तानी तिर्नुपर्ने रकमको विषयमा राय सुझाव दिन कार्यदललाई जिम्मा दिइएको छ ।
त्यस्तै दोस्रो अन्तरराष्ट्रिय विमानस्थललगायतका सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित सुझाव दिन तथा नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाई स्थायीरुपमा हवाई सुरक्षा जाँच ब्यूरो स्थापना गर्ने सम्बन्धमा समेत सुझाव दिने गरी जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले महानिर्देशक गौतमललाई कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । पर्यटनमन्त्री देवलाई नेपाल लोकतान्त्रिक फोरमले फिर्ता बोलाउने निर्णय गरेको छ । यद्यपि जाँदाजाँदै मन्त्री देवले महानिर्देशकलाई मन्त्रालय तानेरै छोडेका छन् ।