गोरखाको वारपाकमा बन्नु पर्ने भूकम्प स्मृति पार्क निर्माण अन्योलमा
प्रकाशित २०७४ असोज १२ बिहिबार
679
Shares
गोरखा । २०७२ साल वैशाख १२ को भूकम्पले केन्द्रविन्दु बनाएको वारपाकमा बनाउने भनिएको भूकम्प स्मृति पार्क निर्माणमा अन्योलमा परेको छ ।
भूकम्पले भत्किएका घर परिवारलाई अन्यत्र सारेर पार्क निर्माणको काम अघि बढाउन खोज्दा स्थानीयले सर्न नमानेपछि निर्माण कार्य अन्योलमा परेको हो
वारपाकका स्थानीयले अहिले स्थानान्तरण गर्न खोजेको ठाउँमा सर्न मानेका छैनन् । भूकम्प स्मृति स्तम्भसँगै १ लाख १३ हजार वर्गमिटर क्षेत्रफलमा पार्क बनाउने र पार्ककै एक भागमा भूकम्पले भत्किएका घरलाई जस्ताको त्यस्तै राखेर म्युजियम बनाउने सरकारको योजना छ ।
सरकारले पार्कभित्र पर्ने ४० घरधुरीलाई वारपाककै सरकारी जग्गामा स्थानान्तरण गर्ने तयारी गरेको छ । तर, ८ घरधुरीले पुरानो ठाउँबाट सर्न आनाकानी गरेका छन् । उनीहरुले पार्क निर्माणका लागि सर्भे गर्न गएको प्राविधिक टोलीलाई जग्गाको नापजाँच गर्न पनि अवरोध गरेका थिए ।
उनीहरुले भूकम्पले भत्काएको घर भएकै ठाउँमा नयाँ घर बनाउन थालेका छन् । सरकारले स्थानान्तरण गर्न लागेको ठाउँमा सर्न आग्रह गरे पनि उनीहरुले अटेर गरेका सुलिकोट गाउँपालिका प्रमुख विष्णु भट्टले बताएका छन् ।
पुरानो ठाउँमा घर बनाइरहेका मध्ये ३ घरधुरीलाई त्यहीँ बस्न दिने र अरु सबैलाई नयाँ ठाउँमा सार्ने गरि सहमतिको प्रयास भैरहेको गाउँपालिका भट्टले बताए ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले पार्कको डिजाइन तयार पारिसकेको छ । पार्कको मुख्य आकर्षण त्यही भूकम्प स्मृति स्तम्भ रहने छ ।