arrow

एमालेको चुनावी रणनीति : वामपार्टीसँग सहकार्य, लोकतान्त्रिक पार्टीसँग दुरी

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बामपन्थी दलहरुसँग सहकार्य र तालमेलको रणनीति लिएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा एमाले स्थायी समिति बैठकले आगामी निर्वाचनमा वाम पार्टीहरुसँगै तालमेल र सहकार्य गर्ने निर्णय गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको हो ।

केही दिनअघि बसेको एमाले केन्द्रीय समिति बैठकले वितेका दिनमा माओवादी लगायत दलसँग एकता गर्नु गल्ती भएको भन्दै आगामी निर्वाचनमा वाम दलहरुसँग नै मिलेर जान नेतृत्वलाई सुझाव दिएको थियो । एमालेले लोकतान्त्रिक दलसँग तालमेल नगर्ने भनेको छ । केन्द्रीय समिति बैठकको सुझावका आधारमा  एमालेले वाम दलसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको हो ।

एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘वाम दलहरुसँग नै तालमेल र सहकार्य गर्नका लागि अधिकतम पहल गर्ने बैठकले निर्णय गरेको छ ।’ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने समय नजिकिएकाले त्यसबारे निर्णय गर्न भन्दै बालकोटमा बैठक बसेको थियो । त्यसबारे अर्को बैठकमा मात्रै निर्णय हुने भएको छ ।

माओवादी केन्द्रसँग तालमेल गर्नेबारेमा शीर्ष तहमै नेताहरुबीच छलफल भइसकेको छ । यस्तै, एमाले स्थायी समितिले आफ्नो पार्टीलाई निषेध गरेर प्रदेश नम्बर २ मा गरिएको चुनावको समग्र प्रतिनिधित्वमा एमालेले दोस्रो स्थान हासिल गरेको भन्दै सकारात्मक रुपमा लिएको छ ।

प्रदेश २ को स्थानीय चुनावको समीक्षा गर्दै एमालेले सत्तापक्षको, साम दाम दण्ड भेद र घेराबन्दीका बाबजुद पनि उक्त प्रदेशमा दोस्रो मत प्राप्त गरेकोमा सन्तोष मानेको हो ।

संघीय र प्रदेशिक संसदको चुनाव तयारी र प्रदेश नम्बर २ को चुनावी समीक्षाका लागि एमाले स्थायी समितिको बैठक बसेको हो । बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठूलो बनाउने गरि लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित हुन आग्रह गरेको छ ।

एमाले स्थायी समितिको बैठकले स्थानीय तहमा सवैभन्दा ठूलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा व्यक्त गरेको निष्कर्ष निकालेको छ । ।

प्रदेश नम्बर २ मा भएको तेश्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दा पनि समग्र सिट सख्याको आधारमा एमाले दोश्रो स्थानमा रहनु सुखद भएको निष्कर्ष बैठकले निकालेको छ ।

स्थानीय तहको परिणामले नागरिकको भरोसा एमालेप्रति रहेको पुष्टि भएकाले प्रदेश र स्थानीय तहमा पनि एमाले नै पहिलो दल बन्ने देखिएकाले विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा स्थायी कमिटीका नेताहरुले जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ