arrow

भीमेश्वरमा पसिना आएपछि क्षमापूजा गरियो

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
bhimeshwor_.jpg

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै सोमबार क्षमापूजा गरिएको हो ।

राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो ।

भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले भीमेश्वरमा क्षमापूजा गरिएको हो ।

पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गरेकी थिइन् । यही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । क्षमापूजाका क्रममा १३ जना पण्डितबाट लघुरुद्री गरिएको छ ।

सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका–२ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गरेका हुन् ।

यो अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा र रणभीम गणका गणपति झवीन्द्रबहादुर रेश्मीको समेत सहभागिता थियो ।

लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई–दुईवटा बोका बलि दिनुपर्ने प्रचलनअनुसार बलिपूजा गरिएको छ । बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ ।

क्षमापूजा समापनपछि सोमबारै पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने भीमेश्वर–२ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ