वैद्य माओवादीले भन्यो–राष्ट्रवादका कुरा गर्ने एमालेले राष्ट्रघातीसँग हात मिलायो
प्रकाशित २०७४ असोज १७ मंगलबार
389
Shares
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले एमाले–माओवादी मिलनको अभ्यासलाई कम्युनिष्ट आन्दोलनबाट विमुख भइसकेको दक्षिणपन्थी धार मिल्न खोजेको रुपमा टिप्णी गरेको छ ।
क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भने, ‘वैचारिक राजनीतिक दृष्टिकोणले एमाले र माओवादीबीच खासै अन्तर थिएन । दुबै कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी धार हुन् । यिनीहरुको मिलन अनौठो होइन ।’ तर, यो अप्रत्यासित हो । यसले कम्युनिष्ट आन्दोलनलाई एकीकृत भन्दा ध्रुबीकृत गर्छ, उनले थपे, ‘अब यसले ध्रुबीकरण ल्याउने पक्का हो । यसलाई कम्युनिष्ट आन्दोलन एकिकृत भयो भन्ने अर्थ लगाउन सुहाउँदैन ।’ किन ? जवाफमा उनले भने, ‘एमालेले आफुलाई राष्ट्रवादी कित्तामा उभ्याउँदै आएको थियो । अब राष्ट्रघातीसँग हात मिलाएपछि के नै बाँकी रहयो र ?’ स्थानीय चुनावमा काँग्रेससँग मिलेर चुनाव लडेको
माओवादी केन्द्रले अहिले एमालेसँग पार्टी एकताको कुरा गर्नु भनेको अप्रत्यासित हो । तर, यो अनौठो होइन । उनले अगाडि भनेका छन्, ‘छुट्टा–छुट्टै बसेका दक्षिणपन्थी धार एक ठाउँमा आउने भए । यसले ध्रुबीकरण ल्याउँछ ।’
कसरी ? जवाफमा उनले भने, ‘एमाले त दक्षिणपन्थी भइहाल्यो । माओवादी केन्द्रमा केही नेताहरु जनयुद्धबाट आएका छन् । इमान्दारिता भएका केही व्यक्तिहरु दक्षिणपन्थीहरुको कलष्टरमा नअटाउन सक्छन् । त्यहीँबाट ध्रुवीकरण सुरु हुन्छ ।’ क्रान्तिकारी माओवादीले यसलाई अवसरवादीहरुको मिलन पनि भनेको छ ।