केपी ओली भन्छन्, 'हाम्रा लागि साधारण बहुमत त सामान्य कुरा हो, अब दुई तिहाईतिर लागिन्छ'
प्रकाशित २०७४ असोज १७ मंगलबार
676
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरुको ध्यान साधारण बहुमत तर्फ नभई दुई तिहाई तिर जाने दाबी गरेका छन् । मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सामान्य बहुमत आफूहरुको लागि अब ठूलो कुरा नभएको भन्दै दुई तिहाई नै आफूहरुको मुख्य उद्देश्य रहेको बताए । उनले एकीकृत कम्युनिष्ट पार्टीले मात्रै मुलुकको हितमा निर्णय गर्न सक्ने भएकोले तीनवटा पार्टीबीच एकीकरणमा गएको स्पष्ट पारेका छन् ।
उनले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने प्रयास जारी रहेको भन्दै प्राविधिक समस्याका कारणले त्यो सहमति गर्न नसकेको स्वीकारेका छन् । यो अहिलेको नेपालको र नेपाली जनताको आवश्यकता रहेको भन्दै यो सबै नेपाल र नेपाली जनताको पक्षमा गरिएको निर्णय रहेको स्पष्ट पारे ।
अब देशभक्त बामपन्थी सरकार बन्न कसैले रोक्न नसक्ने दाबी गर्दै नेता ओलीले संयुक्त कम्युनिष्ट सरकार अब देशमा भ्रष्टाचार मुक्त र सुशासन सहितको सरकारमा ध्यान दिने स्पष्ट पारे ।