अन्य दलसंग छलफलमा, बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रकाशित २०७४ असोज १७ मंगलबार
274
Shares
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको मंगलबार बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच मंगलबार भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
कम्युनिस्ट पार्टीहरूबीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, “निर्वाचन यही सरकारले गराउँछ ।”
सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताए । यस कदमले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुने उनको भनाइ छ ।
मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री देउवाले सरकारमा सँगै छौँ, चुनावमा तालमेल गर्न पनि तयार छौँ भनेको नेता निधिले जानकारी दिए ।
यसैबीच मंगलबारै दिउँसो ३ बजे पनि अध्यक्ष दाहालले पुनः प्रधानमन्त्री देउवालाई भेटेका थिए । सो भेटमा अध्यक्ष दाहालले एमालेसँग चुनावी तालमेल गर्ने, आफ्नौ चुनाव चिन्हमा चुनाव लड्ने, कम्युनिस्ट पार्टीबीचको एकतालाई पहल गर्ने र निर्वाचनसम्म यही सरकारमा रहने आफ्नो पार्टीको निर्णय सुनाएर बाहिरिएका थिए ।
प्रचण्डको सो निर्णय सुनेपछि प्रधानमन्त्री देउवालगायत शीर्ष नेताहरूले सरकारमा सँगै रहने, तर चुनावमा अरु दलसँग चुनावी तालमेल गर्ने निर्णयलाई अस्वभाविक भएको टिप्पणी गरेका थिए ।
बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, पूर्णबहादुर खडका, डा रामशरण महत, नेता निधि, डा मिनेन्द्र रिजाल, महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, डा प्रकाशरण महतलगायत उपस्थित थिए ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले मंगलबारै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् भने बुधबार बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्नेछन् ।
“आज भएको बाम चुनावी तालमेलले नेपालको लोकतन्त्र र राष्ट्रवादी शक्तिहरूलाई एकातिर गम्भीर चुनौती थपिएको छ भने अर्कोतिर एक ठाउँमा उभिने अवसर पनि मिलेको छ” नेता निधिले भने ।
काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।