तालमेल अघि नै यो सरकार नढाल्नेबारे सहमती भएको थियो एमाले र माओवादीबीच
प्रकाशित २०७४ असोज १८ बुधबार
283
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वाम एकताको प्रयास र एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने स्पष्ट पारेका छन् । तीन पार्टीबीच एकीकरण गर्ने समयमा नै प्रमुख रुपमा यही सरकारलाई चुनाव गर्न दिने सहमती भएको खुलासा गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता शर्माले भने, ‘सरकार परिवर्तन नगर्ने प्रमुख शर्तमात्रै नै हामीले एमालेसँग गठबन्धन गरेका हौं, तालमेल गरेका हौं ।’
नेता शर्माले वाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भने, ‘हामीले एमालेसँग वाम तालमेल गर्नेबारे कांग्रेसलाई जानकारी दिएका थियौं, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन् ।’ उनले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउने स्पष्ट पारे । शर्माले भने, ‘यो सरकार दायाँ बायाँ हुँदैन, देउवा नेतृत्वको सरकारले नै चुनाव हुन्छ, चुनाव अघि सरकार परिवर्तनको कल्पना पनि गर्न सकिँदैन् ।’ त्यस्तै उनले एमाले र माओवादी केन्द्रवीचको तालमेल र एकता प्रयासबाट कोही पनि तरंगित हुन आवश्यक नरहेको स्पष्ट पारे ।
शर्माले पार्टीहरु फुटेर अघि बढ्नुभन्दापनि जुटेर अघि बढ्नु नै राम्रो कदम भएको बताए । उनले भने, ‘यसले त काँग्रेसलाई पनि फाईदा नै पुगेको छ, जनताले एकताबद्ध भएर बढेको हेर्न चाहन्छन्, त्यसैले विचार मिल्नेहरु एक भएर जानु नै बेश हुन्छ ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न महत्वपूर्ण अवसर आएको समेत विश्वास दिलाए ।
राष्ट्र निर्माणको लागि एक भएर जानको लागि कम्युनिष्टहरु एक ठाउँमा उभिएको उनको तर्क थियो । उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउनको लागि पनि पार्टीहरु बलियो हुनुपर्छ, कसैले कसैलाई कमजारे पार्नु हुँदैन् ।’ राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागि आफूहरुको एकता हुन लागेको र त्यसको लागि एकता संयोजन समिति समेत गठन भएको शर्माले जानकारी दिए ।