arrow

'काँग्रेस एक हुँदा कम्युनिष्ट गठबन्धन के हो र ?'

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
arjun-narsingh-kc-smile.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्य समिति बैठक सम्पन्न भएको बाम एकता र पार्टीको तर्फबाट आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवार छान्न मापदण्ड तयार पार्ने लगायतका विषयमा छलफल गर्न बसेको बैठकले बाम एकतापछि आसन्न चुनावमा उनीहरुसँग काँग्रेसले कसरी प्रस्तुत भएर अघि बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ । यसै विषयमा हामीले काँग्रेस नेता अर्जुन नरसिंह केसीसँग अब काँग्रेसले कसरी अघि बढ्छ भन्ने विषयमा केही संक्षिप्त प्रश्नहरु सोधेका छौं । 

शुक्रबारको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कस्ता विषयमा छलफल भए ? 

हाम्रो शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा काँग्रेसको स्थापनादेखि नै सुरु भएका केही कमजोरी र त्रुटीका विषयमा यस अघि हामीले छलफल गरेका थियौं । त्यही छलफल पछिको प्रतिवेदन महामन्त्रीले बैठकमा प्रस्तुत गर्नुभयो । त्यही प्रतिवेदन प्रस्तुत पश्चात सभापतिजीले अहिले समसामयिक राजनीतिक बृत्तमा देखिएका कमजोरीहरुको बारेमा छलफल सुरु गर्नु भयो । यसमा सबै केन्द्रीय सदस्यहरुले काँग्रेस एक भएको खण्डमा हामी बामपन्थी शक्तिहरुलाई एक्लैले पनि परास्त गर्न सक्छौं भन्ने विषयमा एउटै स्वरमा कुरा राख्नुभयो । त्यसपछि सभापति जीले यो चुनौती सामनाको लागि हामी अहिलेसम्मका सबै असन्तुष्टिहरु विर्सिएर एकमेठ भएर जानुपर्नेमा जोड दिनुभयो । बाँकी रहेको हाम्रो उम्मेदवार छान्ने विषयमा भएका कुराहरु त ५ बुँदे निर्णयमा नै समेटिएको छ । 

बाम एकीकरणप्रति काँग्रेसले कस्तो धारणा बनायो ?
अहिले संक्रमणकालको अन्त्य र संविधान कार्यान्वयनको लागि मिलेर जानुपर्ने देशको गम्भीर घडीमा राजनीतिक प्रतिस्पर्धा त कायम भएकै थियो । यसमा सबै दलले प्रतिस्पर्धात्मक रुपमा अघि बढीरहेकै छन् । तर, यस्तो अवस्थामा बाम ध्रुवीकरण मात्रै भन्दा पनि सबै दलहरु एकमेठ भएर संविधान कार्यान्वयन तर्फ लाग्नुपर्नेमा लौ हामी मिल्छौं हामी अब आफ्नै सुरमा हिड्छौं भन्नु राष्ट्रप्रतिको गैरजिम्मेवारी हो कि भन्ने लागेको छ । अहिले हामीले संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा ध्रुवीकरण नहोस् भन्ने हाम्रो कुरा हो । तर कम्युनिष्टहरु मिलेर हामी १० वर्ष भित्र कम्युनिष्ट मुलुक बनाउँछौं भन्दै हिँडेपछि हामीले पनि त के गर्ने हो र हामी त पहिलेदेखि नै लोकतन्त्रको पहरेदारको रुपमा एक्लै लड्दै आएको पार्टी हो । हामीले त केही भन्ने त कुरै भएन नि । 

यो एकताबाट काँग्रेस अलिक हतोत्साहित भएको हो ? 
हामी किन हतोत्साहित हुने ? कस्ता कस्ता चुनौती त हामी हाँसिहाँसी सामना गरेर आईयो । हामीलाई पञ्चायतले एक नम्बरको दुष्मन ठान्यो । हामी लडेरै आयौं । हामीलाई कम्युनिष्टहरुले एक नम्बरको दुष्मन ठाने हामी लडेरै आयौं । अब अहिले हामी एउटा गठबन्धन जुट्यो भन्दैमा हतोत्साहित हुने कुरै छैन नि हामी उनीहरुसँग एक्लै फाईट गर्न सक्षम छौं नि । बरु जुन जुन बेलामा बाह्य आक्रमण हुन्छ त्यो बेलामा काँग्रेस एक भएर फाईट गरेको हाम्रो इतिहास बताउँछ । बरु फेरि पनि हामी एक भएर बाम शक्ति विरुद्ध लड्नुपर्ने अवस्था आएको छ । हामीसँग चुनौतीको मुकाविला गर्ने क्षमता छ । त्यसैले हामी यसलाई एकीकृत हुने अवसरको रुपमा लिएर अघि बढ्नुपर्छ भन्ने हो । 

विपक्षीसँग गठबन्धन गरेर पनि माओवादीले सरकार नछाड्नुलाई कसरी लिनु भएको छ ? 
म संसदीय मामला सम्बन्धी केही जानकारी राखेको विद्यार्थी पनि भएकोले सरकारसँग साझेदारी गरिरहेको कुनैपनि पार्टीले प्रमुख प्रतिपक्षीसँग पनि गठबन्धन गर्छ र सरकारमा बसिरहन्छ भने त्यो संसदीय नैतिकता भित्र पर्दैन । अब कम्युनिष्ठ सिद्धान्त संसदीय नैतिकता भित्र पर्छ कि पर्दैन त्यो उहाँहरुले बुझने कुरा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ