एमाले बैठक : माओवादी र नयाँ शक्तिसँग पार्टी एकीकरण गर्ने सहमति अनुमोदन
प्रकाशित २०७४ असोज २१ शनिबार
449
Shares
काठमाडौं । एमाले स्थायी समितिले माओवादी केन्द्र र नयाँ शक्ति पार्टीसँग प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत गरेको छ ।
तालमेल र पार्टी एकीकरणको अभ्यास सुरु गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने ३ दलको ६ बुँदे सहमतिलाई स्वागत गरेर अनुमोदन समेत गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले मंगलबार भएको सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘लचिलो र जिम्मेवार ढंगले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिलाई कार्यान्वयनमा लैजान प्रभावकारी कदम चाल्ने निर्णय गरिएको छ ।’ चुनावी तालमेल र पार्टी एकीकरणका लागि गठन भएको ३ दलीय कार्यदललाई आफ्नो जिम्मेवारी चाँडै पूरा गर्न समेत बैठकले सचेत गराएको सचिव ज्ञवालीले बताए ।
पार्टी एकता संयोजन समिति, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि निर्वाचन क्षेत्र बाँडफाँड कार्य दल र घोषणा पत्र मस्यौदा कार्यदललाई छिटो आफ्नो कार्यसम्पादन गर्न सचेत गराइएको छ ।
वामदेव गौतम नेतृत्वको संयुक्त कार्यदललाई आईतबारसम्म संयुक्त चुनावी घोषणा पत्र तयारीको काम सम्पन्न गरिसक्नुपर्ने निर्देशन दिइएको छ । ईश्वर पोखरेल नेतृत्वको कार्य दललाई चुनावका लागि तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँडको जिम्मेवारी दिइएको छ ।
स्थायी समिति बैठकले चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि पार्टीको तर्फबाट कृष्णकुमार डल्लाकोटीलाई प्रमुख र मुनाकुमारी श्रेष्ठलाई उपप्रमुखमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।