एमाले माओवादीको हावाहुरी काँग्रेसले रोक्छ र रोक्नैपर्छ
नवीन्द्रराज जोशी,
प्रकाशित २०७४ असोज २१ शनिबार
326
Shares
काठमाडौं । २००७ साल अघिको राजनीतिक व्यवस्था फाल्नको लागि गरेको आन्दोलनदेखि अहिलेसम्मको राजनीतिक विकासक्रममा आईपुग्दासम्म नेपाली काँग्रेसले धेरै चुनौतीहरुको सामना गर्यो। देश र जनताको मुक्तिका निम्ति हामीे जहानीया राणा शासनको निम्ति आफ्नो घरपरिवारलाई माया मारेर युद्धमा हिड्यौं । प्रजातन्त्र बहालीपछि केही समयमा नै पञ्चायती शासन व्यवस्था लादियो। त्यसमा पनि हामी नै मूल तारोको रुपमा पर्यौं । हामीलाई यो व्यवस्थाले पनि धेरै चुनौती र कठिनाईहरु सिर्जना गराईदियो । हामीले त्यो पनि सामना गर्यौं । पञ्चायतले हामीलाई चिसो छिँडीमा थुनेर राख्दा पनि हामीले आफ्नो भन्दा जनताकै मुक्ति राज्यौं । हामीले जेलको चिसो छिँडीमा बस्दा खुल्ला रुपमा राज्यको समाचार जनतामा पुर्याईरहेको स्वतन्त्र प्रेसको सपना देख्यौं । के यो सत्ता प्राप्तिको लागि मात्रै थियो ? आफ्नो कार्यकालमा कहिले शासन बदलिएला र अनि शासन गरौंला भनेर जेलमा बसेको भनेर भन्ने हिम्मत कसैले जुटाउन सक्छ ?
राणा शासनको विपक्षीलाई सिधैं झुण्ड्याएर मार्ने युगमा छाती थापेर जनताको मुक्तिका लागी कसले लड्यो ? जनताका छोरीचेलीहरु माथिको दानवीय व्यवहार सहनुपर्ने राणा शासनलाई फ्याकेर आफ्नै दाजुभाइले शासन गर्न पाउने व्यवस्था गर्दासम्म के नेपाली काँग्रेस चुनौतीले मुक्त थियो ? के ती बेलाका चुनौतीहरु अहिले गैर संवैधानिक रुपमा साम्यवादको नारा लगाउने बाम गठबन्धनका दलहरुले गरे ? कसैले गरेनन् । मुलुकमा जतिसुकै राजनीतिक परिवर्तनहरु भए ती सबै नेपाली काँग्रेसको अगुवाईमा नै भएका हुन् । त्यसैले दुईचारवटा कम्युनिष्ट पार्टीको एकता भयो भनेर धेरै विचलित भएको भनेर हल्ला पिट्ने गरिएको छ । कोही विचलित भएको पनि छैन र हुनुपर्ने पनि छैन । किनकी हामीलाई चुनौतीको सामना गर्न अनुभवले सिकाएको छ । हाम्रा पूर्खाहरुले सिकाएका छन् । चुनौतीदेखि पछि हट्न सिकेकाहरुले हो यस्तो सोचाई राख्ने चुनौतीसँग डटेर हिँड्नेहरुले कहिलैपनि यस्ता चुनौतीलाई चुनौती मान्दैन ।
व्यवस्था परिवर्तनको नाममा मुलुकलाई विकास हुन नदिने खेल
अहिले मुख्यतया एमाले र माओवादीले पार्टी एकीकरण गर्दैछन् । अब देशमा साम्यवाद स्थापना गराउने भनेर घोषणा गरेका छन् । मेरो विचारमा यो फेरि देशमा विकास हुन नदिने खेल मात्रै हो । नेपालमा न त साम्यवाद लागू गर्न सकिन्छ न त त्यसको मान्यताको पछि लाग्न नै । राणा शासनबाट प्रजातन्त्र ल्याईयो त्यो जनताको पक्षमा नै थियो । त्यसपछि पञ्चायतले शासन हडप्यो काँग्रेस त्यसको विरोधमा लाग्यो । यो बीचमा न त काँग्रेस लगायतका अन्य दलले नै विकासको लागि सरकारलाई सहयोग गर्न पायो न त सरकारले नै विकासमा धेरै काम गर्न सक्यो । त्यसपछि ०४६को आन्दोलनले गुमेको प्रजातन्त्र खोसियो । अब विकासको बाटोमा लाग्नुपर्ने भन्ने बेलामा माओवादी युद्ध सुरु भयो । त्यसपछि लोकतान्त्रिक आन्दोलन त्यसपछिको ८ वर्षमा संविधान, यसरी सबै परिवर्तन गरेर अब विकासको बाटोमा लाग्ने बेला भए पछि फेरि एमाले र माओवादीहरु अर्काे राजनीतिक व्यवस्थाको हौवा पिटेर नेपालको विकास गर्ने समय वर्वाद गर्न बाहेक केही खोजेका छैनन् ।
ध्रुवीकरण आफैंमा हामीलाई कुनै टाउको दुखाई छैन । तर, साम्यवादको नारा बोकेर नयाँ ध्रुवीकरण गर्नु व्यवस्था परिवर्तनको नाममा मुलुकलाई सधैंभरी विकासविहीनतामा थन्काई रहने मेसो बाहेक केही होईन । हामीले अब गणतान्त्रिक व्यवस्था भित्रको संसदीय व्यवस्था अँगाल्ने भनेर ९० प्रतिशत सांसद् मिलेर संविधान पारित गरायौं । जसले त्यो संविधान पारित गरायो उनीहरु नै अहिले संविधानमा नरहेको साम्यवादी व्यवस्थाको नारा बोकेर संविधान विपरित लाग्छन् भने हामीले के भन्ने त्यस्तो अवस्थामा ? यो ती दलहरुले जनतालाई दिएको धोका बाहेक अरु केही हुन सक्छ र ?
काँग्रेसको काँधमा फेरि जिम्मेवारी
समग्रमा भन्दा संविधान कार्यान्वयन सँगै यसरी भाँडिएका दलहरुमा जिम्मेवारीपनको अभाव देखिएको छ । संविधान कार्यान्वयनप्रति उनीहरु गम्भीर हुन सकेनन् । यसको अर्थ यो होईन कि काँग्रेस अब सबै विग्रियो भनेर हतोत्साहित भएर होईन कि संविधान कार्यान्वयन गराउनको लागि जिम्मेवार भएर अघि बढ्नुपर्छ । बेलगाम घोडा जस्तो बनेर जताततै जान लागेका एमाले र माओवादीलाई सही बाटोमा डोर्याउनु पर्ने बेला भएको छ । सबैभन्दा जेठो पार्टीको हिसावले पनि हामीले अरु दलको अभिभावकको हैसियतमा जिम्मेवारी लिनै पर्छ त्यसको लागि काँग्रेस एक हुनुपर्छ र काँग्रेस लोकप्रिय पनि हुनुपर्छ । नेपालमा साम्यवाद भनेको कल्पना मात्रै हो भन्ने कुरा काँग्रेसलाई राम्रोसँग थाहा छ । हावाहुरीको भरमा हिँड्ने पार्टीहरुले फेरि एक पटक अर्काे हावाहुरी ल्याएका हुन् तर यसलाई काँग्रेसले रोक्छ र रोक्नै पर्छ ।
काँग्रेस नेता जोशीसँग हाम्राकुरा डटकमका प्रतिनिधिले गरेको कुराकानीको आधारमा तयार पारिएको