काठमाडौं। यसवर्षको नेपाल संवत् ११३८ मनाउन साहित्यकार चित्तरञ्जन नेपालीको अध्यक्षतामा २१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। नागरिकस्तरमा गठन गरिएको उक्त ‘न्हुँदया समारोह समिति’ ले वर्षभरि नेपाल संवत्बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसारलगायत विभिन्न गतिविधि गर्नेछ। समितिका पूर्व अध्यक्ष सल्लाहकार रहनेछन्।
अध्यक्ष नेपालीले शङ्खधर साख्वाले प्रचलनमा ल्याएको नेपाल संवत्मा चन्द्रमासमा गणना गरिने हुँदा यो वैज्ञानिक रहेको र यसलाई अभ्यासमा ल्याउनुपर्नेमा जोड दिए।
समितिका सल्लाहकार एवं राजनीतिज्ञ तीर्थराम डंगोलले नेपालबाट शुरु भएको नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा विकास गरी कामकाजमा प्रयोगमा ल्याउनुपर्ने बताए।
आगामी कात्तिक ३ गतेदेखि नेपाल संवत् ११३८ शुरु हुन्छ। संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरिँदै आएको छ। रासस