देउवा सरकारलाई राप्रपाको समर्थन, के–के भयो निर्णय ?
प्रकाशित २०७४ असोज २३ सोमबार
248
Shares
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा सहभागी हुने सम्भावना बढेको छ । यद्यपि, छलफल जारी रहेको र अन्तिम टुंगो लागि नसकेको राप्रपाले जनाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
राप्रपाले आफ्नो निर्णयमा भनेको छ, ‘सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख विपक्षी एमालेसँग पार्टी एकता र चुनावी सहकार्य गर्ने निर्णय गरेसँगै सरकार अल्पमनमा पर्न सक्ने, राजनीतिक अस्थिरता आउन सक्ने तथा प्रदेश र प्रतिनिधि सभाको चुनाव नै धरापमा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चितताको निमित्त राप्रपाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।’ यसबारेमा संसद सचिवालय र नेपाली काँग्रेसलाई जानकारी दिइने बताइएको छ ।
राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरण, पार्टीको एजेण्डाको सवलीकरण तथा मुुलुकको आर्थिक सम्वृद्धिको लक्ष्य प्राप्त गर्न राप्रपाले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेस र अन्य प्रजातान्त्रिक शक्तिहरुसँग तालमेल तथा सहकार्य गर्ने, –समेत भनेको छ । बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन कार्य योजना पारित गरेको छ–भने विभिन्न समिति समेत बनाएको छ ।
कार्यसम्पादन समिति बैठकले कमल थापाको अध्यक्षतामा १० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति, उद्धव पौडेल संयोजक रहेको आर्थिक समिति, भुवन पाठक संयोजक रहेका प्रशिक्षण समिति, सुशील श्रेष्ठ संयोजक रहेको प्रचार प्रसार समिति, विजय खड्का संयोजक रहेको प्रवास परिचालन समिति, टंक ढकाल संयोजक रहेको युथ परिचालन समिति र अध्यक्ष कमल थापा नै रहेको घोषणापत्र तयारी समिति गठन गरेको छ ।
राप्रपा प्रवक्ता सुशील श्रेष्ठले सरकारमा सहभागि हुने कुराको टुंगो लागिनसकेको र गठबन्धनमा सहभागि हुने कुरा लगभग टुंगिएको बताएका छन् । उनले भने, ‘करिब–करिब सिट बाँडफाँट मिलेको छ ।’ राप्रपाले ७–८ सिट र प्रदेश सभालागि २५–३० सिट माग गरेको छ । प्रवक्ता श्रेष्ठले आफुहरुले अब धेरै लामो कुरा नगर्ने बताएका छन् ।