गौचनको हत्या लगत्तै अर्का व्यवसायी जिपछिरिङलाई 'त्यस्तै हालत बनाईदिने' धम्की
प्रकाशित २०७४ असोज २३ सोमबार
732
Shares
काठमाडौं । निर्माण व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष शरद् गौचनमाथि गोलीप्रहार भएको केही क्षणमा नै अर्का निर्माण व्यवसायी दीपछिरिङ लामाको फोनमा नम्बर नदेखिनेगरी फोन आयो ।
फोनमा सोधियो : लामा हो ?
लामा : हो ।
फोन काटियो । केही बेरमा फेरि नम्बर बिहीन तरिकाले फोन आयो ।
फेरि सोधियो : लामा हो ?
लामा : हो ।
अपरिचित : शरद् गौचनको हत्याको कुरा त थाहा भयो होला नि ।
लामा : थाहा भयो । तर तपाई को बोल्नु भो ?
अपरिचित : म को हो भन्ने कुरा चिन्नु जरुरी छैन । त्यस्तै हालतमा पुग्न मन छैन भने व्यवस्था गरेर बस्नू ।
सोमबार निर्माण व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष शरद् गौचनमाथि गोली प्रहार भएको केही क्षणमा नै अर्का निर्माण व्यवसायी जिपछिरिङ लामा माथि पनि ज्यान मार्ने धम्की आएको छ । यही धम्कीबारे लामाले हाम्राकुराका प्रतिनिधिलाई सिभिल अस्पतालमा सुनाएको किस्सा हो माथिको ।
निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका लामा ठूलाठूला ठेक्कापट्टामा संलग्न हुने लामा कन्स्ट्रक्सनका अध्यक्ष पनि हुन् । नेपाली काँग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहेका लामालाई पनि यसरी धम्की आएको हो ।
यसरी दिनदाहाडै व्यवसायीमाथि गोली प्रहार गरिनु र अरु व्यवसायीलाई समेत खुलेहाम धम्की दिईनुले निर्माण व्यवसायीहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएको पुष्टि भएको छ । आफूहरुको पूर्ण सुरक्षाको माग गरी अहिले व्यवसायीहरुले सिभिल अस्पतालमा प्रदर्शन गरिरहेका छन् भने व्यवसायीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म गौचनको शब पनि नबुझ्ने र पोष्टमार्टम रिपोर्ट पनि नबुझ्ने अगानमा व्यवसायीहरु रहेका छन् ।