काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथि हुँदैन भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकताको निर्णय भएपछि पहिचान र समावेशिता तथा समानुपातिकता विषय पार्टीले छाडेको भन्दै किराती असन्तुष्ट बन्दै आएका थिए ।
उनले माओवाद र पहिचानका विषयमा पार्टी प्रतिबद्ध रहेकाले पार्टी छाड्ने भन्ने कुरा नै नभएको उल्लेख गरेका छन् ।
सचिवालयको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटलगायत विषयमा समेत छलफल भएको र कार्यदलले तयार पारेको प्रतिवेदनलाई एकसरो अध्ययन गरेर अन्तिम रुप दिइने निर्णय भएको छ ।