रोल्पा। रोल्पाबाट वैदेशिक रोजगारीमा खाडीमुलुक गएकामध्येको वर्षेनी ठूलो संख्यामा मृत्यु हुने गरेको देखिएको छ। जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य भए पनि मृत्यु हुने भने सबै पुरुष मात्रै रहेका छन्। घर्तीगाउँ–७ रोल्पाका हरिप्रसाद कामीको २०७३ कात्तिक २० गते मृत्यु भएको थियो। ३० वर्षीय हरिप्रसाद रोजगारीको सिलसिलामा २० महिना अघि कतार गएका थिए। ब्लड क्यान्सरका कारण उहाँको मृत्यु भएको परिवारले जानकारी दिएको छ।
रोल्पा जंकोटका ४१ वर्षीय तुलसी विक्रम पुन रोजगारीकै क्रममा मृत्यु भएका अर्का रोल्पाली छन्। मलेसियाको क्वालालम्पुरमा रहेको एक भारतीय कम्पनीमा काम गर्दै आएका पुनको २०७३ साल कात्तिक २४ गते मृत्यु भएको थियो। पुनको उच्च रक्तचापका कारण मृत्यु भएको परिवारले वताएको छ।
रोल्पा नगरपालिका–४ गुरुङगाउँका खुमबहादुर गुरुङको साउदीमा मृत्यु भएपनि शव नेपाल आईपुग्न डेढ वर्ष लागेको थियो। साउदी अरबमा काम गर्दै गरेका गुरुङलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो।
रोल्पाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका रोल्पालीका प्रतिनिधि पात्र हुन कामी, पुन र घर्ती। उनीहरु जस्तै रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको संख्या आर्थिक वर्ष ०७-०७२ मा ११ जना रहेको थियो। यसैगरी, आव ०७२-०७३ मा यो संख्या बढेर २२ पुगेकोमा आव ०७३-०७४ मा यो संख्या १९ थियो।
मृत्युपश्चात् मृतकका हकदारले रु १० लाखदेखि दुई करोड ३० लाखसम्म क्षतिपूर्ति बुझेको जिल्ला प्रशासन कार्यालय, रोल्पाले जानकारी दिएको छ। मृतकका परिवारलाई क्षतिपूर्तिका लागि आवश्यक कागजात पूरा भएर आउने बित्तिकै तत्काल भुक्तानी दिने गरिएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए।
कोरिया, जापान, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा केही रोल्पाली रोजगारीका लागि पुगेपनि झण्डै ९० प्रतिशतभन्दा बढी रोल्पालीको रोजगारीको गन्तव्य खाडीमुलुक रहेका छन्। जिल्ला प्रशासन कार्यालय, रोल्पाको तथ्यांकअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने गर्दछन्। आव २०७२-०७३ मा राहदानी लिने रोल्पालीको संख्या छ हजार ८५६ जना रहेको थियो भने आव ०७३-०७४ मा चार हजार २३६ जनाले राहदानी लिएका थिए।
१८ देखि ४० वर्ष उमेर समूहका युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक देखिएको छ। लामो समयदेखि रोजगारीमा गएर आवतजावत गर्ने ४० वर्ष माथिका रहेपनि नयाँ रोजगारीमा जाने ४० वर्षमुनिका हुने गरेको बताइएको छ।
असुरक्षित श्रम, आवश्यक ज्ञान सीपको अभाव तथा जोखिमपूर्ण काममा जानुपर्ने बाध्यताका कारण धेरै जनाको मृत्यु भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा भट्टराईले जानकारी दिए। घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको संख्या अधिक रहेका कारण वर्षेनी यति धेरै रोल्पालीको मृत्यु हुने गरेको छ।
मिठो सपना बोकेर विदेश जाने रोल्पाका यस्ता युवा लाश बनेर फर्कँदा घरमा श्रीमती र छोराछोरीको विचल्ली हुने गरेको छ। स्वदेशमै रहँदा एकप्रकारले पारिवारिक व्यवस्थापन गरेका उनीहरु विदेश गएर मृत्युवरण गरेपछि भने पारिवारिक अवस्थामा ठूलो समस्या देखिँदै आएको छ।
विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएपछि घरमा श्रीमतीको विचल्ली हुने गरेपनि राज्यले भने हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मर्म विपरीत भएको एकल महिला समूहकी अध्यक्ष तुलसा आचार्यले बताए।
त्यस्ता अवस्थामा रहेकालाई समाज, सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नुपर्ने र राज्यले रोजगारीको व्यवस्था गरिदिनु पर्ने उनले बताए। रोजगारीका अन्य विकल्प नहुँदा वैदेशिक रोजगारीमा जान बाध्य रोल्पालीमा कामअनुसारको पारिश्रमिक नपाउनु, असुरक्षित कामका कारण मृत्युको संख्या बढ्दै जानेजस्ता समस्याका कारण आकर्षण पनि घट्दै जान थालेको छ।
रोल्पा जिल्लाबाट भारतबाहेक अन्य मुलुकमा रोजगारीमा जानेको संख्या २५ हजारभन्दा बढी रहेको बताइन्छ। रासस