सत्ता कब्जामा विफल माओवादी वाम एकताका नाउँमा जनता झुक्याउँदै : रक्षामन्त्री प्रधान
प्रकाशित २०७४ असोज २५ बुधबार
588
Shares
काभ्रे । रक्षामन्त्री भीमसेनदास प्रधानले जनयुद्धबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले बाम एकताको नाममा देशमा साम्यवाद लाद्न खोजेको बताएका छन । नेपाल प्रेस युनियन केन्द्रिय समितिले धुलिखेलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन र संचार क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले जनयुद्धबाट सत्ता कब्जा गर्ने रणनीनि फेल भए पछि देशमा साम्यवाद लाद्न अर्को प्रपञ्च सृजना गर्न खोजेको बताए ।
‘जनयुद्धबाट सत्ता कब्जा गर्न नसकेर माओवादीले देशलाई साम्यवाद तिर धकेल्न बाम एकताको भ्रम छर्न खोजेको छ, संसारमा कम्युनिष्टहरु ओरालो लागेको कुरा कम्युनिष्ट शक्तिहरुले बिर्सेका छन, जनताले निर्वाचन मार्फत देशलाई जोगाउँनु पर्छ,’ मन्त्री प्रधानले भने । उनले कांग्रेसले विगतका विभिन्न आन्दोलन र पविर्तनको अगुवाइ गरेको भए पनि माओवादीले जस्तो जनतालाई लुट्ने र दुख दिने काम नगरेको भन्दै कांग्रेस नेतृत्व माओवादीलाई लोकतन्त्र सिकाउँन सफल भएको बताए । प्रजातन्त्र र लोकतन्त्रलाई विश्वास नगर्ने र संसदीय व्यवस्था नमान्ने माओवादीलाई लाइनमा ल्याउँनु कांग्रेसको लागि ऐतिहासिक जित भएको उनको भनाइ थियो ।
मन्त्री प्रधानले कांग्रेसलाई कुनै गठबन्धनले असर नगर्ने भन्दै कम्युनिष्टहरु एक हुँदा जनताले विवेकको फैसला गरेर निर्णय लिने भन्दै कम्युनिष्ट एकता कांग्रेसका लागि सुवर्ण अवसर भएको स्पष्ट पारे । उनले पार्टीले निर्वाचनमा उमेदवार चयन गर्दा जनताले रुचाएका तथा इमान्दार उमेदवार चयन गर्नु पर्नो भन्दै पार्टीका लागि त्यो नै जनताले विश्वास गर्ने बाटो बन्ने समेत बताए ।
कार्यक्रममा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले मुलुकमा युगौं युग देखि लोकतन्त्र माथी एक पछि अर्को गर्दै संकट आइपरेको भन्दै कांग्रेस कुनै गठबन्धन सँग डराउँनु पर्ने अवस्था नरहेको स्पष्ट पारे ।
यस्तै वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकार महाँसंघका महँसचिव रमेश विष्ट, महाँसंघका पूर्व अध्यक्ष धमेन्द्र झा, प्रस युनियन अध्यक्ष बद्री सिग्देल लगायतले संचार माध्यमले मुलुकको अवस्थालाई ध्यान दिंदै कलम चलाउँनु पर्ने बताए ।