डडेल्धुरा । प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेपनि डडेल्धुराका प्रभावित क्षेत्रमा पुगेर स्थलगत अध्ययन नगरिएको र स्थानीयको सुझाव संकलन नगरिएको भन्दै जिल्लाको महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुले गम्भीर आपत्ती जनाएका छन् ।
परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल प्रा.लि.ले दार्चुला, बैतडी र कञ्चनपुरमा स्थलगत अध्ययन र जिल्लास्तरीय कार्यशालाको आयोजनागरी सुझाव संकलन गरेको छ । डडेल्धुरा जिल्लाको भागेश्वर गाँउपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका थुप्रै बस्तीहरु पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डुबान क्षेत्रमा पर्दछन् ।
परामर्शदाता सम्वद्ध वातावरणविद्को टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेपनि डडेल्धुरा जिल्लाका प्रभावित क्षेत्रमा पुगेर छलफल नगरिएको प्रति स्थानीयले आपत्ति जनाएका हुन् । “विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माणको काम अन्तिम चरणमा पुगेको आमसञ्चार माध्यमहरुबाट समाचार सम्प्रेषण भइरहेको छ ।” डडेल्धुराको प्रभावित भित्रिमधेस क्षेत्रमा स्थापित चुरे क्षेत्र वन वातावरण समन्वय समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले भने, “डडेल्धुरा जिल्लाका महाकाली तटीय क्षेत्रका बासिन्दाहरुसँग सल्लाहनै नगरि योजना निर्माण गरिनु दुर्भाग्यपुर्ण हो ।”
विज्ञहरूले गरेको अध्ययनपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो । अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनलाई आधार मानेर उच्च बाँध निर्माणस्थल र प्रभावित क्षेत्रको अध्ययन गरी प्रतिवेदनलाई अन्तिम रूप दिन लागेको छ ।
परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाब संकलन गरेको थियो । स्थानीयको सुझाबपछि प्रारम्भिक योजना बनाएको विज्ञहरूको टोलीले बैतडी, कञ्चनपुर र दार्चुलामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाको सुझाब संकलन गरेको छ ।
सुझाव संकलनका लागि डडेल्धुराको महाकाली तटीय बस्तीसम्म टोली नपुगेकोमा महाकाली सन्धी र पञ्चेश्वर परियोजनाका विज्ञ मानिने कञ्चनपुर जिल्ला विकास समितिका पुर्व सभापति ऋषिराज लुम्सालीले रोष ब्यक्त गरे । “योजना निर्माण गरिदा दार्चुला, बैतडी र कञ्चनपुर पुगेर मात्र हुँदैन्, डडेल्धुरा र कैलाली पनि प्रभावित क्षेत्र हुन् ।” उनले भने, “डडेल्धुराका अधिकांस बस्तीहरु डुबानमा पर्ने भएकाले डडेल्धुरालाई उच्च प्राथमिकतामा राखेर विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण गरिनु पर्छ ।”
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको मुख्य सहायक बाँध डडेल्धुराको रुपालीगाँडमा निर्माण गरिने भएकाले विस्तृत वातावरणीय व्यवस्थापनको योजनामा डडेल्धुरा जिल्लाका राय सुझाव संकलन गरिनुपर्ने लुम्सालीले औल्याए ।
आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अन्तिम रूप दिइने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलका वातावरणविज्ञ अजयभक्त माथेमाले बताए । उनले रुपालीगाँडमा सहायक बाँध बनेपछि मात्रै डडेल्धुरा प्रभावित क्षेत्रमा पर्ने भएकाले विस्तृत वातावरणीय व्यवस्थापनको योजना तर्जुमा गर्दा डडेल्धुरामा स्थलगत अध्ययन नगरिएको र सुझाव संकलन नगरिएको बताए ।
पञ्चेश्वर परियोजना अन्तर्गत प्रस्तावित पुर्णागिरी बाँध बिरुद्धको संघर्ष समिति डडेल्धुराका अध्यक्ष रामचन्द्र चटौतले पञ्चेश्वर परियोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना तर्जुमाका क्रममा डडेल्धुरा जिल्लालाई उपेक्षित गर्न नहुने जिकिर गरे । उनले डडेल्धुरा जिल्लामा महाकाली नदीको तटीय क्षेत्रमा मात्रै सयौ प्राचीन बस्ती रहेको र परियोजना कार्यान्वयनका क्रममा जिल्लाको ठुलो भूभाग डुबान क्षेत्रमा पर्ने डडेल्धुरा जिल्लामा अध्ययन नगरिनुबाट विस्तृत वातावरणीय व्यवस्थापनको योजना फितलो बन्ने आशंका ब्यक्त गरे ।