arrow

डडेल्धुराका ऐतिहासिक क्षेत्र ओझेलमा

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
dadeldhura-bag-bazar.gif.jpeg

डडेल्धुरा ।  डडेल्धुरामा रहेका अधिकांश ऐतिहासिक क्षेत्र ओझेलमा परेका छन् । 

उचित मर्मत सम्भार र प्रचारप्रसारको अभावमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र ओझेलमा परेका हुन् । 

सदरमुकाममा रहेको अमरगढी किल्ला, अजयमेरु कोट, अजयमेरु गाउँपालिकाको देवलमा रहेका देवल, आलिताल गाउँपालिकाको धार्मिक तथा पर्यटकीय आलिताल, अमरगढी नगरपालिका ७ मा रहेको रावल तोली गुफा, गन्यापधुरामा रहेको गन्यापताललगायत दर्जनौँ ऐतिहासिक पर्यटकीय क्षेत्र लोप हुने अवस्थामा पुगेका छन् । 

जिल्लाका विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा धार्मिक क्षेत्रको सम्भार तथा प्रवद्र्धन नगर्ने हो भने अजयमेरु कोट रावलतोली गुफा जस्तै नासिँदै जाने अवस्था छ । राजा नागी मल्लले डोटी राज्य सञ्चालन गर्नका लागि गृष्मकालीन समयमा बसोबास गर्नका लागि निर्माण गरेको अजयमेरुकोट तथा कोटमा रहेका गुफा, दरबार, तबेला, न्वालालगायतका संरचना जीर्ण अवस्थामा छन् । 

स्थानीय र सरकारी निकायले ध्यान नदिँदा पर्यटकीय क्षेत्र ओझेलमा परेका भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट बताउछन् । तत्कालीन बडाकाजी अमरसिंह थापाले विसं १८४७ मा निर्माण गरेको अमरगढी किल्लाको भित्री भाग जीर्ण भइसकेको छ । काजी अमर सिंहले यसै किल्लाबाट महाकालीपारिको विजयी अभियान शुरु गरेको किंवदन्ती छ । 

किल्लामा रहेका वंकर, गुफा जीर्ण भइसकेका छन् भने त्यहाँ रहेका पुराना हातहतियार तोप, बन्दुक, भोटे ताल्चा, भाला, खुँणा हराइसकेका छन् । मर्मत सम्भार र प्रचारप्रसार नगर्दा ऐतिहासिक पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएका अमरगढी ५ खलंगाका स्थानीयवासी तथा पर्यटन विकास समितिका अध्यक्ष सुदाम थापाले बताए। 

अमरगढी किल्लाभित्रका सामग्री पुनःनिर्माणमा कसैले चासो नदेखाए पनि किल्ला बाहिर भने घेरबार लगाउने कामको शुरुवात भइसकेको छ । अजयमेरुकोटमा वर्षेनी लाखौँ रुपैयाँ खर्च हुने भए तापनि त्यसको सही सदुपयोग हुन सकेको छैन । बरु देवल रहेका स्थानमा स्थानीयवासीले जग्गा अतिक्रण गर्ने, दरबारमा रहेका ढुंगा, कलात्मक वस्तु नासिँदै र हराउँदै गएको छ । 

त्यसैगरी, परशुराम नगरपालिकामा रहेको चारधाममध्येको एक मानिने परशुराम धामको प्रवद्र्धन गर्नका लागि बजेट निकासा भएको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी दिए । परशुरामधामसम्म पुग्ने बाटो कालोपत्र गरी प्रचारप्रसार गर्ने हो भने आन्तरिक र बाह्य पर्यटकले भरिभाराउ हुने साउदको भनाइ छ । उक्त धाम धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । 

पर्यटकीय सम्भावना बोकेका भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन सकेका छैनन् । समयमै यी ऐतिहासिक क्षेत्रको मर्मतसम्भार गर्न नसके लोप हुन सक्ने खतरा बढेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ