दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज भुर्की पूजन
पश्चिम नेपालका मधेशी समुदायमा भैयादुज पर्व मनाइयो
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
729
Shares
खजुरा (बाँके)। आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज पश्चिम नेपालका मधेशी समुदायमा भैयादुज पर्व मनाइरहेका छन्। तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैयादुजमा भुर्की पूजन गरी आआफना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाइने गरिन्छ।
घरको आंङग्नमा गाईको गोबरले लिपपोत गरि दाजुभाइको चित्र कोरेर, नदी तलाउ, पर्बत, बाघ, भालु, सर्प, बन जगंलका चित्र बनाएर जंगलमा पाइने कुशलगायत विभिन्न कांडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ।
सो सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मुर्ति बनाएर पूजा गरिन्छ। गाउँ टोलका सम्पुर्ण महिला एउटा घरमा एकजुट भई सामूहिकरुपमा भुर्की पूजन गर्ने परम्परा रहेको अवधी अगुवा पण्डित शिवशंकर मिश्रले बताए।
त्यसक्रममा भाइ बहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा पनि सुनाउने गरिन्छ। भुर्की पूजनका क्रममा दिदीबहिनीले विहानैदेखि व्रत बसेर आ–आफनो दाजुभाइको सुख, शान्ति, उन्नती, सुस्वास्थ्य, प्रगतिलगायतको कामना गर्दछन्।
टिकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा भुर्की पूजन गरिएको छ। आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजुभाइलाई कात्तिक पुर्णिमासम्म पनि खुवाउने प्रचलन छ। रासस