arrow

योगदानका आधारमा टिकट वितरण गर्न काँग्रेस नेता कार्यकर्ताको माग

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
nepali-congress-flag.jpg.jpeg

भक्तपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पुर्‍याएका व्यक्तिको मूल्याँकनका आधारमा टिकट वितरण गर्न नेपाली काँग्रेसका नेता कार्यकर्ताले माग गरेका छन् ।

पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा परेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नगर र क्षेत्रीय कमिटीबाट आएका सिफारिशमा जिल्ला समितिले आकाङ्क्षीको नाम थप गरेर सिफारिश गरे पनि पार्टीले सही व्यक्तिको छनोट र मूल्याँकन गरेर मात्रै टिकट वितरण गर्नुपर्ने बताए ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली काँग्रेसका युवानेता विनोद कायस्थले योगदानका आधारमा पार्टीले टिकट वितरण गर्नुपर्ने माग गरे। भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा परेका उनले भने, “पार्टीमै जीवन अर्पण गरेका, यसअघि अवसर नपाएका र पार्टीमा पुर्‍याएको योगदानको कदर गर्दै यसपटकको निर्वाचनमा पार्टीले टिकट वितरण गर्नुपर्छ, त्यसमा हामी विश्वस्त छौँ ।”

नेपाली काँग्रेस र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टिकटको सिफारिशमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्नेक्रम बढेपछि नेताको योगदानका आधारमा टिकट वितरण गर्न माग गरिएको हो ।

सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश नं २ सूर्यविनायकका उम्मेदवारको सिफारिशमा परेका नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले प्रतिनिधिसभा र प्रदशेसभा दुवैमा हुने टिकट वितरणमा राम्रा, जनतामाझ चिरपरिचित र पार्टीमा योगदान पुर्‍याएकाले टिकट पाएमा चुनाव जित्न गाह्रो नहुने बताए ।

निर्वाचन क्षेत्र नं २ का मध्यपुरथिमिका प्रदेशसभाका लागि उम्मेदवारको सिफारिशमा परेका युवानेता सन्तोष भट्टराईले पार्टीले यसपटक नेतृत्व सम्हाल्दै आएका नयाँ पुस्तालाई मौका दिनुपर्ने बताए । पटक पटक अवसर पाएकालाई भन्दा पनि अवसर नपाएका युवाको छनोट पार्टीले गर्न सके सहजै चुनाव जित्न सकिने उनले प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ