त्रिशुलीमा दुर्घटना भएको बसबाट ११ शव निकालियो, तेह्र घाइतेको उद्धार
राजविराजबाट काठमाडौँ आउँदै थियो बस
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
614
Shares
धादिङ। राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा डुवेको छ ।
खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा डुबेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पुर्याएका छन् । नदिको गहिरो भागमा डुबेको बसबाट उद्धारकर्ताहरुले ११ यात्रुको शव निकालेका छन्।
गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो ।
गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन । प्रहरीले गाडीको नम्वर समेत नखुलेको जनाएको छ ।