अखण्ड पार्टी नेपालका अध्यक्ष सहित ५७ जिल्लाका कार्यसमिति आयो काँगेसमा
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
620
Shares
पोखरा । नेपाली काँग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको बताएका छन् ।
नेपाली काँग्रेस कास्कीको आयोजनामा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिए । “वाम गठबन्धनले आम सर्वसाधारणमा स्वतन्त्रताको हनन, अधिनायकवादको थालनी गर्ने जस्ता धेरै डर त्रास यतिखेर सर्वसाधारणमा छाएको छ,” उनले भने, “लोकतन्त्रको स्थापना र यसको संस्थागत विकासका लागि निरन्तर संघर्ष गर्दैआएको काँग्रेसले मात्र डर त्रास मुक्तसमाजको निर्माण गर्नसक्छ ।”
लोकतन्त्रको रक्षा केवल काँग्रेसले मात्र गर्नसक्ने कुरा नेपाली जनताले बुझेको बताउँदै प्रधानमन्त्री देउवाले अहिलेको निर्वाचन लोकतन्त्रको संरक्षण, विकासवादी सोच र अधिनायकवादी सर्वसत्तावादी सोच बीचको भएको उल्लेख गरे ।
सो कार्यक्रममा अखण्ड पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवं पूर्व सभासद सूर्यबहादुर केसी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवाद तर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए । “नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखिएको छ,” उनले भने“लामो समयको संघर्ष र सहमतिले बनाएको संविधान उल्टाउने प्रयास भएको छ, दुई तिहाइ ल्याएर संविधान फेर्छौं भन्ने कुरा राम्रो होइन ।” संविधानको मौलिक विषयमा प्रश्न उठाउनु देशका लागि अप्रिय भएको बताउँदै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसको विजय हुनु अपरिहार्य भएको बताए ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकजति समृद्धितर्फ अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गरे । उनले अवको युग आर्थिक समृद्धि र विकासको युग भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसको चारतारे झण्डामुनि समाहित हुन सबैसँग आग्रह गरे ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्ट गठबन्धनमार्फत मुलुकलाई अधिनायकवादतर्फ लान खोजिएको आरोप लगाउँदै काँधमाकाँध मिलाएर सबै प्रजातन्त्रवादी शक्ति एकजुट बन्न आह्वान गरे । उनले नेपाली काँग्रेसमा समाहित हुने अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र उक्त पार्टीका पदाधिकारी तथा सम्पूर्ण सदस्य, वरिष्ठ समाजसेवी एवं पूर्व सभासद् सूर्यबहादुर केसीलगायतका नेता तथा कार्यकर्तालाई पार्टीले उच्च सम्मान गर्ने दृढता व्यक्त गरे ।
कानून ,न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसमा ठूलो प्रजातान्त्रिक शक्ति प्रवेश गरेकोले सबै पार्टी कार्यकर्तालाई उच्च मनोबलका साथ मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा अघि बढ्न आग्रह गरे ।
काँग्रेसमा प्रवेश गर्ने अखण्ड पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवं पूर्व सभासद सूर्यबहादुर केसीले वाम गठबन्धन मुलुकका लागि घातक देखेरनै नेपाली कांग्रेसमा समाहित भएको विचार व्यक्त गरे ।
कार्यक्रममा पूर्व सांसद शुक्रराज शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र कोषाध्यक्ष लक्ष्मी पाण्डे, सचिव रामराज लामिछाने लगायतले आ आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा अखण्ड पार्टी नेपालको केन्द्र र ५७ जिल्लाको कार्यसमिति नै आजदेखि नेपाली काँग्रेसमा विलय भएको जानकारी गराइएको थियो ।