arrow

प्राविधिक गाउँ नपुगेर भूकम्पपीडितलाई सास्ती 

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
Palpa_District.png

रामपुर । निस्दी गाउँपालिका–२ सहलकोटका भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या परेको छ । 

भूकम्प गएको करिब तीन वर्षसम्म टहरामा बास बस्दै आइरहेका यहाँका भूकम्पपीडितलाई बास बस्ने टहरो पनि अहिले भत्किन थालेपछि बास कसरी बिताउने भन्ने चिन्ताले सताएको छ । 

प्राविधिकको सल्लाह नपाउँदा घर बनाउने कार्यमा अन्यौलता छाएको सहलकोटका स्थानीयबासिन्दा भुमबहादुर रानाले बताए । “राहतबाट बनेको टहरो पनि पुरानो भएर भत्कन थालिसक्यो”, “सरकारले पहिलो किस्ता उपलब्ध त गराएको छ तर निर्माण शुरु गर्नका लागि प्राविधिकहरु गाउँमा अहिलेसम्म आइपुगेका छैनन” उनले भने । 

आफ्नै निर्णयले घर बनाएको भए अहिलेसम्म घर बनिसक्थ्यो, प्राबिधिकको कारणले घर बनाउन नपाएको उनले गुनासो गरे । 

अर्का भूकम्पपीडित पूर्णबहादुर गाहालाई भूकम्पपछि बनाएको टहरो अहिले भत्किएपछि बासको पिरलो परेको छ । “जसोतसो बास बस्ने टहरो थियो, त्यही टहरो पनि भत्किएर छिमेको घरमा बस्नुपर्ने अवस्था आयो” उनले दुखेसो पोखे । 

दुई दिनसम्म उनी टहरो भत्किएपछि छिमेकीको घरमा बास बसे । अहिले भने भत्किएको त्यही टहरोलाई छिमेकीको सहयोगमा सामान्य मर्मत गरेर बास बस्दै आएका छन् तर त्यो पनि कतिबेला भत्किन्छ भन्ने टुंगो छैन । 

तीन वर्षाद् र दुई हिउँको समय टहरामै जीवन बिताएका अधिकांश भूकम्प प्रभावितको समस्या उस्तै छ । अबको जाडोको समय कसरी बिताउने भन्नेमा पीडितहरु पिरोलिन थालेका छन् । 

सरकारले पुनःनिर्माणमा बेवास्ता गर्दा आफूहरुले अझै पनि टहरामै बास काट्नु परेको पीडितहरु बताउँछन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार पाल्पा जिल्लामा ४ हजार ६५२ घर पुनःनिर्माणका लागि छनौट भएका छन् । 

साविक सहलकोट गाविसका ३१५ घरमध्ये पछिल्लो तथ्याङ्कअनुसार १४६ घर पुनःनिर्माणका लागि छनौटमा परेको छ । 

जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै ५० प्रतिशत पीडित घरपरिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण भइसकेको छ । 

तर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि कुनै कर्मचारी नखटाउँदा निर्माण कार्यले भने गति लिन सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ