दलहरूबीच प्रजातान्त्रिक अभ्यासको बहस चलाउनुपर्छ :मोदी
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
354
Shares
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको समुन्नत भविष्यका लागि राजनैतिक दलभित्रको प्रजातान्त्रिक अभ्यासलार्ई वहसमा लानु पर्ने बताएका छन् ।
भारतीय जनता पार्टीको केन्द्रिय कार्यालयमा दिपावलीको अवसरमा भएको सञ्चारकर्मीसँगको संक्षिप्त भेटघाट कार्यक्रममा उनले दलहरूभित्र आजभोलि बजेटको धेरै बहस हुने गरेको तर जीवनका मुल्य मान्यता, विचार, आन्तरिक प्रजातान्त्रले कसरी नयाँ पिँडीलाई सुन्दर मौका प्रदान गर्छ भन्ने बिषयमासमेत छलफल नहुने गरेको बताए ।
राज्य अहिले प्रजातन्त्रको पार्टीभित्रको अभ्यासका बिषयमा खासै ध्यान नदिएको बताउँदै सञ्चारमाध्यमले यस बिषयमा दलहरूको ध्यान केन्द्रित गराईदिनेपर्नेमा जोड दिए । "कुनै पनि दलको लागि प्रजातान्त्रिक मुल्यमान्यता प्रमुख हुन्छन् वा हुँदैनन् यसलाई वृहदत रूपमा बहस गर्नुपर्दछ । म यो विश्वास गर्छु कि राजनैतिक दलमा वास्तविक प्रजातन्त्रको महत्व देश तथा प्रजातन्त्रकै भविष्यका लागि अतिआवश्यक छ," उनले भने ।
कुनैपनि प्रतिद्वन्द्वी दलको नाम उल्लेख नगरीकनै उनले भारतीय कँग्रेसको अध्यक्षमा सोनिया गान्धीको ठाँउमा उपाध्यक्ष राहुल गान्धीलाई लैजान लागेकोप्रति इङ्गित गर्दै प्रजातन्त्रको अभ्यास दलहरूले गर्नुपर्ने उनको प्रतिक्रिया थियो । आफ्नो दलले नयाँ बर्षसँगै धेरै सकारात्मक गतिविधिलाई अघि बढाउँदै जाने पनि प्रधानमन्त्री मोदीले प्रतिबद्धता जाहेर गरे । पीटीआई