arrow

पाँच वर्षमा खाडीमा पानी बेच्ने योजना छ : रायमाझी

‘जनतालाई पश्चाताप र भोट खेर जान दिन्न’

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
umesh_jung.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस भोजपुरका प्रतिनिधि सभा सदस्यका उम्मेदवार उमेशजंग रायमाझीले पाँच वर्ष भित्रमा नेपालको पानी खाडी मुलुकमा बेच्ने आफ्नो योजना रहेको बताएका छन् । नेपाली कांग्रेस भोजपुर(काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना गएको चुनावी भेटघाट कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री समेत रहेका उम्मेदवार रायमाझीले उक्त कुरा बताएका हुन् ।

‘पानी बोत्तलमा’ भन्ने योजना अघि सार्दै रायमाझीले सयौं खोलानाला रहेको नेपाल जस्तो मुलुक पानी बेचेरै सम्पन्न बन्न सक्ने धारणा राखेका छन् । उनले विश्वमा पेट्रोलियम पदार्थ भन्दा खानेपानीको मूल्य दोब्बर महँगो भएको भन्दै पेट्रोलियम पदार्थ बोकेर आएका ट्यांकर मार्फत खाडी मुलुकका किचेनमा पानी निर्यात गर्न सकिने बताए ।

रायमाझीले भने , ‘ यो भनेको खोला , नदीको पानी बोत्तलमा हाल्ने हो । तेल प्रशोधन भन्दा पानी नदीको पानी प्रशोधन गर्न सस्तो पर्छ । तेल भन्दा सुद्ध खानेपानी महँगो पर्छ । संसारका धेरै मुलुकहरु तेल बेचेर धनि बनेका छन् । हामी पानी बोत्तलमा ति मुलुकमा बेचेर तेल बेच्ने मुलुक भन्दा धनि बन्न सक्छौं । ’

उनले आफू सांसद बने भने यो योजना सदनमा टेबल गराउने भन्दै जसरी पनि ‘पानी बोत्तलमा’ अभियान सफल पारेर छाड्ने बताए ।
रायमाझीले पूर्व प्रधानमन्त्रीको कृष्णप्रसाद भट्टराईको चुनावी अभियानको नेतृत्व गर्दा मेलम्चीको खानेपानी राजधानीमा ल्याउने योजना सुनाउंदा मानिसहरुले नपत्याएको स्मरण गराउंदै यो पनि त्यो भन्दा महत्त्वकांक्षी योजना रहेको बताए ।

उनले  समृद्ध भोजपुर निर्माण आफ्नो अभियान रहेको बताउंदै पाँच वर्ष भित्र पूर्वको कर्णाली रहेको भोजपुरलाई विकासको हिसाबले मुलुककै नमूना जिल्ला बनाउने  उद्घोष गरे ।हरेक गाउँ जोड्ने सडक निर्माण गर्ने र एकीकृत बस्ति विकास गरेर समृद्ध गाउँ बनाउने भन्दै उनले भोजपुरे आफूलाई हालेको भोट खेर जान नदिने स्पष्ट पारे ।भोजपुरे जनताले आफूलाई जिताएर पश्चाताप र निराशाजनक अवस्था आउन नदिने भन्दै उनले आफ्नो सन्तति र सुनौलो भविष्य निर्माणका लागि भोट खसाल्न आग्रह गरे ।

कार्यक्रमा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपाली कांग्रेस सरकारमा जाँदा भोजपुरले विकासको अनुभूति गर्न पाएको भन्दै यो कुरा जनता समक्ष कुनै संकोच नमानी राख्नु पर्ने बताए ।उनले भोजपुरको हरेको राजनीतिक क्रान्ति र विकासको पहरेदार नेपाली कांग्रेस भएकाले भोजपुरको विकास र समृद्ध भोजपुर निर्माणका लागि पनि कांग्रेसको नेतृत्व  आवश्यक रहेको धारणा राखे ।

युवा नेतृ मिना (कार्की) खत्रीले नेपाली कांग्रेस एकजुट भएर समृद्ध भोजपुर निर्माणको अभियानमा लाग्नु पर्ने बताइन् । उनले प्रजातन्त्रको लडाइको दौरानमा अग्रणी मोर्चामा रहेको कांग्रेस एकजुट भएर अघि बढ्ने हो भने भोजपुरमा कुनै शक्तिले केहि गर्न नसक्ने धारणा राखिन् ।

कार्यक्रममा नेपाली कांग्रेस भोजपुर(काठमाडौं  सम्पर्क समितिका  अध्यक्ष केदार कार्कीले पाँच वर्ष भित्र १०० मेगावाट जलविद्युत भोजपुरका खोलानालाबाट निकाल्न सकिने भन्दै यसले भोजपुरको समृद्धिमा टेवा पुर्याउने बताए ।

उनले अवसर पाए भोजपुरलाई पाँच वर्ष भित्रै सम्पन्न बनाउन सकिने भन्दै अव निर्माणको समय आएकाले भोजपुरे जनताले सोच्नु पर्ने बताए ।उनले भोजपुरे जनताले माओवादीलाई एकपटक र एमालेलाई पटकपटक हेरिसकेकाले भोजपुर निर्माण गर्ने जिम्मा कांग्रेसको काँधमा स्पष्ट पारे ।उनले समृद्ध भोजपुर निर्माणका लागि नेपाली कांग्रेस एक भएर जानुपर्ने भन्दै कांग्रेस एक ठाउँमा उभिए आफूहरु सबैलाई पछि पर्दै अरुण नदीको बेगमा अघि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ