काँग्रेस कायापलट गर्न आएको छ : शशांक (भिडियो सहित)
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
289
Shares
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेस मुलुकमा विकासको कायापलट गर्न आएको भन्दै अब जनताहरुको आर्थिक विकासको सपना नेपाली काँग्रेसले पूरा गर्ने बताएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा बिहीबार उम्मेदवारी दर्तापछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेपाली काँग्रेसले यो संकल्प पूरा गर्ने र नेपाललाई कायापलट गराएरै छाड्ने बताए ।
बामपन्थी एकतासँग जोडेर विपी कोइरालाको उक्ति स्मरण गर्दै उनले भने 'कुनैपनि मान्छे १८ वर्षको छौ र तिमी कम्युनिष्ट छैनौं भने तिम्रो हृदय छैन र तिमी २८ वर्ष हुँदासम्म पनि कम्युनिष्ट नै छौं भने तिम्रो दिमाग छैन ।' त्यसैले यो सीमित समयको लागि मात्रै अस्तित्वमा आउने कम्युनिष्टहरु एकीकृत हुँदैमा सबै सकियो भन्नु कम्युनिष्टहरुले नै पिटाएको हौवा मात्रै हो भन्दै योसँग नडराउन उनले सबै कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।
उनले यो चुनावमा नेपाली काँग्रेसलाई विजयी गराउने हो भने नेपाली जनताको जीवन स्तरोन्नती हुनेमा ठोकुवा पनि गरे । उनले आगामी निर्वाचनमा रुख चिह्नमा मत दिन सबैमा आग्रह गर्दै नेपाली जनताको जीवन उज्वल पार्ने जिम्मा नेपाली काँग्रेसले बोक्ने बताए ।