arrow

शरिफको अदालतमा उपस्थिती

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
nawaj-sarif.jpeg

इस्लामावाद । भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबीनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित भएका छन् । 

भ्रष्टाचारको आरोप लागेपछि उनलाई गएको जुलाई महिनामा प्रधानमन्त्रीबाट पाकिस्तानी सर्वोच्च अदालतको आदेशमा हटाइएको थियो । पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट स्वदेश फिर्ता भएका थिए । उनलाई इस्लामाबादको  भ्रष्टाचार हेर्ने अदालतले अदालत उपस्थित हुन शुक्रबारको समय दिएको थियो । त्यसैले उनी हिजो नै स्वदेश फर्किएका हुन् । 

पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारअुनसार उनी शुक्रबार बिहान विशेष सुरक्षा व्यवस्थाका साथ अदालत उपस्थित भएका थिए । उनलाई अदालतले यही नोभेम्बर ७ मा उपस्थितिका लागि अर्को म्याद दिएको उनका वकिलले जानकारी दिएका छन् । अदालत जाँदै गर्दा उनको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको र अदालत उपस्थित हुने र निस्किने क्रममा उनले प्रेसलाई कुनै प्रतिक्रिया नदिएको बताइएको छ । 

स्रोत नखुलेको धेरै सम्पत्ति जम्मा गरेको आरोप उनिमाथि छ । प्रधानमन्त्रीबाट राजिनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउने ६७ बर्षीय शरिफले बताएका थिए । 

पाकिस्तानी सर्वोच्च अदालतले उनी प्रधानमन्त्री हुन अयोग्य भएको फैसला गरेपछि उनले राजिनामा दिएका हुन् । पाकिस्तानको निर्वाचनसम्बन्धि कानूनमा भ्रष्टाचारको अनुसन्धानमा परेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान छ । 

शरिफकी पत्नी कुलसुम नवाजलाई घाँटीको क्यान्सर भएकोले उपचारका लागि भन्दै गत महिना लण्डन गएका थिए । उनी स्वदेश फर्किएको समाचार यहाँको सरकारी टेलिभिजनले प्रसारण गरेको थियो । बिहीबार साँझ फर्किएका उनी विमानस्थलबाट आफ्नो निजी सवारी साधनमा इस्लामावादस्थित पञ्जाव हाउसमा पुगेका थिए । उनलाई सो हाउसमा उनका ठूलो सङ्ख्याका समर्थकहरूले स्वागत गरेका थिए । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ