arrow

अफगानिस्तानमा टिभी स्टेशनमै आतंकवादी आक्रमण, पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
afghanistan-tv.jpg

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक टेलिभिजन च्यानल स्टेशनमा मङ्गलबार भएको आतङ्ककारी आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन् । घटनामा २१ जना अन्य घाइते भएका बताइएको छ । 

काबुलको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी सामसद टेलिभिजनमा बिहानै दुई आक्रमणकारीले हमला गरेका सुरक्षा स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएका छन् । 

मृतकमा सुरक्षा गार्ड, एक जना महिला कामदार र दुई आक्रमणकारी रहेका बताइएको छ । एक जनाको पहिचान खुल्न सकेको छैन । 

प्रहरीको भेषमा आएका आक्रमणकारीले टेलिभिजनको भवनमा शरण लिई सुरक्षाकर्मीको सङ्कट व्यवस्थापन एकाईका अधिकारीमाथिसमेत आक्रमण गरेपछि सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो । 

आक्रमणको सूचनापछि घटनास्थल पुगेको सुरक्षाकर्मीको समूहले करिब तीनघण्टापछि स्थितिलाई नियन्त्रणमा लिएको थियो । 

एकअर्को समूहबीच गोली चलेपछि अन्ततः सुरक्षाकर्मीले दर्जनौ सञ्चारकर्मी तथा टेलिभिजन कार्यालयका कर्मचारीलाई उद्धार गरेका थिए । 

घाइतेमध्ये केही सञ्चारकर्मी तथा चारजना बारुद नियन्त्रण अधिकारी रहेका यहाँको प्रहरीले एक वक्तव्य जारी गरी जानकारी गराएको छ । 

आक्रमणको अफगानी राष्ट्रपति असरफ घानी, अफगानी पत्रकार सुरक्षा समितिलगायतले कडा शब्दमा निन्दा गरेका छन् । 



नयाँ