पक्राउ परेका विप्लव कार्यकर्ता रिहा गर्न सिंचाइ राज्यमन्त्रीकाे माग
कविता उपाध्याय,
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
301
Shares
लिबाङ, रोल्पा । सिंचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पामा वुधबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का कार्यकर्ता रिहाइको माग गरेका छन् ।
लिबाङ बजार पुगेका बेला पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति र सुवर्णाबती गाउँपालिकाको मिझिङबाट पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी लगायत सोही पार्टीका अन्य दुइजना कार्यकर्ताको यथासिघ्र रिहाईका लागि पुनले माग गरेका हुन् ।
“शान्तिपूर्ण रुपमा समाजमा राजनीति गर्ने र घुमफिर गर्ने अधिकार सबैलाई हुन्छ । तर यसरी पुलिस प्रशासन लगाएर धर पकडमा पार्ने अधिकार कसैलाई हुँदैन । यसमा मेरो घोर आपत्ती छ, विरोध छ । त्यसैले यथासीघ्र रिहाइकालागि प्रहरी प्रशासनलाई मेरो निर्देशन पनि छ ”–उनले भनेका छन् ।
राज्यमन्त्री पुनका अनुसार कसैले समाजमा विद्धंस गर्छ, हिंसात्मक गतिविधिमा संलग्न रहन्छ वा दुर्व्यवहार गर्छ भने त्यस्ता व्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरी प्रशासन वा अन्य क्षेत्रमा आफ्नोपनि सकारात्मक साथ र सहायोग रहनेछ । तर शान्तिपूर्ण रुपमा राजनीति गर्ने व्यक्तिलाई पक्राउ गर्नु मानवअधिकार विरोधी कार्य भएको हुँदा उहाँले यसरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ पर्नु निन्दनीय भएको र यसप्रति आफ्नो घोर आपत्ती रहेको बताए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले प्रहरी प्रशासनको कुनै आग्रह वा प्रर्वाग्रह नभएको बताए । भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको हुँदा गृहमन्त्रालयको आदेश बमोजिम नियन्त्रणमा लिनु परेको उनको धारणा छ ।
यस्तै प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले पक्राउ परेका व्यक्तिहरु शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न भएको हुँदा आफूहरु पक्राउ गर्न बाध्य भएको बताए ।
उनले भने, “हामीले उहाँहरुलाई कुनै पार्टीका कार्यकर्ता भएको हिसावले पक्राउ गरेका होइनौं । स्वतन्त्र तथा भयरहित वातावरणमा मतदान गर्न चाहने मतदाताहरुमा डर त्रास देखाउदै निर्वाचन बिरोधी कार्यहरु गरेको हुँदा उहाँहरुलाई पक्राउ गरी यस विषयमा अनुसन्धान प्रारम्भ भइरहेको छ । अनुसन्धान पश्चात कानून बमोजिम कारबाही हुन्छ ” उनले भनेका छन् ।
प्रनाउ फुयालले आफूहरु कुनैपार्टी वा व्यक्ति कसैसँग पनि पूर्वाग्रही नभएको जिकिर समेत गरे । चुनाव विरोधी गतिविधि गर्ने वा जनतालाई डरत्रास देखाइ प्रलोभनमा पार्ने जो कोही व्यक्तिलाई पनि आफूहरु पक्राउ गर्न बाध्य हुने समेत उनले बताए ।
यता पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवम् अधिकारकर्मी महेश न्यौपानेले नागरिकको स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै आपत्ति प्रकट गरे ।
भोट हाल्नु वा चुनाव बहिष्कार गर्नु कुनैपनि नागरिकको अधिकार भएको हुँदा विना प्रमाण यसरी नागरिकलाई थुनामा राख्नु गैर जिम्मेवारीपूर्ण काम भएको उनले बताए ।
अर्कोतर्फ नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु आक्रोसित भएका छन् । स्थानीय निर्वाचनमा पनि प्रहरी प्रशासनले आफूहरुलाई दुःख दिएको र अहिलेपनि दुःख दिन खोजिरहेको उनीहरुको आरोप छ । समाजमा शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई यथासीघ्र रिहाइका लागि उनीहरुको माग छ ।