काँग्रेस प्रवेश गर्न लागेकी माओवादी पूर्व सांसद् दोस्रो पटक अपहरणमा
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
497
Shares
कञ्चनपुर । नेपाली कांग्रेस प्रवेश गर्न दोस्रोपटक प्रयास गरेकी नेकपा माओवादी केन्द्रकी पूर्व सांसद दुर्गा खुनालाई भातृ संगठन वाइसीएलले रोकेको छ । उनी निकट स्रोतका अनुसार यसअघि पहिलो चरणको मनोनयन दर्ताकै बेला कांग्रेसमा प्रवेश गर्न खोजेकी थिइन् । त्यतिबेला पार्टी प्रवेश गर्न लागेको थाहा पाएर खुनालाई वाइसीएलकै कार्यकर्ताले उठाएर एक हप्ता वेपत्ता पारेका थिए । उनलाई तत्कालिन गृहमन्त्री जनार्दन शर्माका पीए एवं वाइसीएल नेता नवराज ऐरी, माओवादी नेता टेकेन्द्र भट्ट, महेश जोशी लगायतको निर्देशनमा सम्पर्क विहिन बनाइएको थियो ।
फेरि सम्पर्कमा आई कांग्रेसका प्रभावशाली नेता एवं क्षेत्र नम्बर २ का उम्मेदवार एनपी साउदको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्ने तयारीमा रहेकी खुनालाई दोस्रोपटक विहिबार वाईसीएलका केटाहरुले उठाएर लगे । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का एक चौधरी थरका स्थानीयका अनुसार खुना पार्टी प्रवेश गर्न भनेर बंक शिविरमा बडघर सम्मेलन राखिएको थियो । उनी त्यहाँ उपस्थित थिइन् ।
उनलाई पार्टी प्रवेश गराउन एनपी आउँदै थिए । यही बीचमा तपाईसँग काम छ केही युवा आएर उनलाई गाडीमा हालेर लगे । पछि उनीहरु वाईसीएलका कार्यकर्ता भएको खुल्यो । उनीहरुले खुनालाई माओवादी नेताकहाँ लगेर गए । नेताहरुले उनलाई चुनावको मुखमा पार्टी परिवर्तन नगर्न चेतावनी दिँदै पार्टीलाई नकारात्मक प्रभाव पर्ने काम नगर्न चेतावनी दिए । यसरी चेतावनी दिनेमा जनार्दन शर्माका पीए नवराज ऐरी, जिल्लाका नेता टेकेन्द्र भट्ट लगायत थिए ।
जनयुद्ध कालमा जबरजस्ती गर्ने माओवादी कार्यकर्ता अहिले पनि सच्चिएका छैनन् भन्ने उदाहरण बनेको छ यो घटना । लोकतन्त्र र गणतन्त्रको कुरा गरेपनि माओवादी र वाइसीएलहरुले पार्टीको नाममा व्यक्तिको स्वतन्त्रतालाई यसरी हनन गरिरहेका छन् । पूर्व सभासद् खुना एमाओवादीबाट २०६४ सालमा संविधानसभा सदस्य थिइन् ।