arrow

किरात धर्मगुरु फाल्गुनन्दको १३३ औं जन्म जयन्ति मनाईँदै

logo
जितेन्द्र भण्डारी ।
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
Falgunanda-Lingden.jpeg

पाँचथर । १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३३ औं जन्म जयन्ति उनको कर्मभूमि पाँचथरसहित देशका विभिन्न भू भागमा विविध कार्यक्रमको आयोजना गरी मनाइदैँछ ।

विक्रम सम्वत १९४२ कात्तिक २५ गते इलामको इभाङ ५  चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मेका नरध्वज लिङदेन सिकिस्त विरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइदिएपछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ ।

१६ वर्षमा वर्मामा सैनिकको रुपमा काम गर्न थालेका उनले १९१४ को पहिलो विश्वयुद्वमा समेत सामेल भएका थिए । पछि उनी मानव मानव बिचको लडाइ मारामारबाट विश्व शान्ति नहुने भन्दै  सैनिक जागिर समेत छाडेर नेपाल फर्किए पछि पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्वु समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए ।

उनले लोप हुने अवस्थामा रहेको लिम्वुको सिरिजंगा लिपिको खोजि गरी संरक्षण सम्वर्धन साथै लिम्वुहरुका जन्म विवाह मृत्यु संस्कारलाई समयानुकुल परिवर्तनको लागि कार्य गरेका थिए ।  

८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने, झुठो वोल्नु नहुने,नारीहरु सृष्टि कर्ता भएकोले उनीहरूलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पुजा आराधना गर्नु पर्ने, मासु मंश तथा मदिरा पान गर्नु नहुने साथै देवि देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा संचालन गरेका थिए ।

तत्कालिन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरितिहरुलाई संशोधन गरी राम्रा रिति रिवाजको संरक्षण र खराव कुराहरुलाई सच्याउनुपर्ने भन्दै विक्रम सम्वत १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्वुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको भेला गराइ पाँचथर जिल्लाको फिदिमस्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरिति र कुसंस्कारको  विरुध्द  १० बुँदे  सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागू गरेका थिए ।

ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिमशृंखलालाई किराँतिहरुको पवित्र धार्मिकस्थत तथा तिर्थस्थलको रुपमा उनले विकास समेत गरेका थिए। सोहि अनुरुप अहिले समेत किराँतिहरुले कुम्भकर्णलाई पवित्रस्थलको रुपमा आराधना गर्ने गरेका छन्। उनले त्यस बेलामा समेत आन्तरिक तथा वाह्य  पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ।

किराँतिहरूको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गदै भारत, भुटान र  नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तल्कालिन अवस्थामा देश द्रोहिको आरोप समेत खेप्नुपरेको थियो। 

लिङदेनको विक्रम सम्वत २००५ मा पाँचथरको  इम्वुङ गाविसको हाङयक भन्ने स्थानमा मृत्यु भयो।  उनको मृत्यु पछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने  संघ संस्थाले कार्तिक २५ गते जन्म जयन्ति मनाउँदै आएका छन् ।

लिङदेनलाई  नेपाल सरकारले २०६६ साल मंसिर १६ गते  १६ औ राष्ट्रिय विभुतिको रुपमा  घोषणा समेर गरेर उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ । 

नेपाल सरकारले उनको  स्मरणमा २०५० सालमा हुलाक टिकट प्रकाशनमा ल्याएर  सम्मान  गरेको छ। किराँत धर्मवालम्विहरुले  फाल्गुनन्दको जन्म जयन्ति अर्थात कार्तिक् २५ गतेलाई सार्वजनिक विदा दिनुपर्ने समेत  माग राख्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ