arrow

प्रविधिले खोस्यो रोजगार

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
kath.jpg

ताप्लेजुङ । "पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो" सिरिजंघा ७ का धनबहादुर सार्कीले भने । 

काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई तीन वर्षअघिसम्म उक्त आरा उनको काँधमा हुन्थ्यो । सार्की घरदेखि एक दिनको पैदलदुरीमा समेत काँधमा आरा बोकेर काठ काट्न हिँड्ने गर्थे । 

सोही ठाउँकै भीम लिम्बू भन्छन् "त्यो समयमा काठ काटेरै कमाएको पैसाले घर बनाइयो, जस्तापाताले घरको छाना ओढाइयो अहिले आराले काठ काट्ने जमाना हरायो । हातमा भएको सीप प्रयोग गर्न नपाउँदा पैसा कमाइ गर्ने बाटो नै बन्द छ ।" सिदिंवा गाउँपालिकाका दलबहादुर मरातीको कुरा पनि उस्तै छ । "अहिले गाउँगाउँमा काठ चिर्ने मेसिन चलाउन थाले, हाम्रो आरा घरमै थन्कियो," मराती भन्छन् । उनीहरुले काठ काटेरै महिनामा  १५ हजारदेखि २० हजारसम्मको कमाइ गर्थे । 

यि तीनजना आरावाल त उदारण मात्रै हुन् । आराले काठ काट्ने सीपबाट नै गुजारा गरिरहेका पहाडी क्षेत्रका सयौँ मजदुरको रोजगार काठ चिर्ने मेसिनले खोसिदिएको छ । पछिल्लो समय सहज र सरल तरिकाले काठ काट्नका लागि मेसिनको प्रयोग हुन थालेपछि काठ काट्ने मजदुरले काम पाउनै छाडेका छन् । 

पहिले भवन निर्माणका लागि चाहिने काठ काट्न ठेक्का दिएरै आरावाललाई काठ काट्न लगाइन्थ्यो । अहिले मेसिन किन्न सक्नेले मात्र काठ काट्ने काम पाउने गरेका छन् ।  सत्तरी हजारभन्दा बढीको लगानीमा मेसिन खरिद गर्ने आँट प्रायः आरावालमा छैन् । कतिपयले मेसिन किन्न सके पनि उनीहरुमा मेसिन चलाउने सीप छैन । मेसिन चलाउने सीपका लागि तालीम र औजार खरिदमा कतैबाट सुविधा पाए सहज हुने उनीहरुको भनाइ छ । 

घरमा आरा थन्क्याएर बसेका स्थानीय कुमार गुरुङ भन्छन"मेसिन खरिद र मेसिन चलाउने सीप विकासका लागि कतैबाट सुविधा पाए हामी जस्ता गरिबले भौतारिनुपर्ने थिएन ।" आजभोलि ग्रामीण क्षेत्रमा काठ चिर्ने मेसिन पुगेको छ । धेरै झन्झट नहुने साथै चाँडो र सरल तरिकाले काठ चिर्ने भएकाले चिर्ने मेसिनको प्रयोग बढ्दै गएको छ । आराले काठ काट्नेको रोजगार हराए पनि अर्कातिर मेसिन किनेर काम गर्नेले भने मनग्य आमदानी लिने गरेका छन् । 

मेसिन खरिद गरेर यसरी काम गर्दै आएका सिरिजंघा ७ कै यामकुमार सार्कीले राम्रोसँग काम पाउँदा महिनामा  ६०-७० हजारसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । मेसिनले ठूल ठूला रुख पनि सहजै तरिकाले चिर्ने भएकाले काम गर्न निकै सहज हुने प्रयोगकर्ताको भनाइ छ । आराले काठ काट्दा आरा धरान थापेर त्यसमाथि मुढा राखेर दुई जनाको सहायताले चिरिन्छ । यो धेरै झन्झटिलो छ । तर मेसिनको प्रयोगले एउटै व्यत्तिले पनि सहजै गर्न सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ