- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तेहरान । इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।
तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षतिको आँकलन गरिएको हो । उक्त प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
सो भूकम्पबाट हजारौँ भवन र सरकारी संरचना ध्वस्त हुनुको साथै क्षतिग्रस्त भएको बताइएको छ । यस भूकम्पमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौँ घाइते भएका छन् । कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ । भूकम्पका कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको हो ।
इरान र इराकको सीमाक्षेत्रमा भूकम्प गएको थियो । यसबाट इरानतर्फका आठवटा गाउँमा बढी क्षति भएको छ । साथै अरु पनि कैयाौँ गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ । इरानमा सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए ।
भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति पुगे
यसैगरी तेहरानबाट प्राप्त अर्को एक समाचारमा इरानका राष्ट्रपति हसन रौहानी बुधबार सो भूकम्पप्रभावित क्षेत्रको भ्रमणमा गएका थिए ।
उनले बुधबार सो क्षेत्रको भ्रमण गरेर पीडितलाई आवश्यक सहयोगका साथै उद्वारको कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका थिए । सिन्ह्वा