हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप, दर्जनबढी चौपाया घाइते
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
172
Shares
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घर हात्तीको बथानले भत्काई घरभित्र राखेको पूरै अन्न खाएर नोक्सानी गरेको छ ।
बुधबार राति ११ बजे २०–२५ को सङ्ख्यामा निकुञ्ज क्षेत्रबाट शिविरमा आएको हात्तीको बथानले दिलबहादुर लुहार, जितराम चौधरी, लालबहादुर डगौरा, विजय डगौरा, दुखराम डगौराको पूरै घर भत्काई अन्न खाएर नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।
“शिविरकै लाल बहादुरको बाख्रासमेत हात्तीले मारेको र भान्सामा रहेको आगोबाट छावालाई जोगाउनका लागि हात्तीले आगो फाल्दा पूरै घर जलेर नष्ट भएको छ”, उनले भने ।
“निकुञ्ज प्रशासनले धान चुट्न नदिँदा पूरै धान चुट्न पाएका थिएनौँ”, स्थानीयवासी जित बहादुरले भने, “घरभित्र राखेको र आँगनमा राखिएको पूरै धान हात्तीको बथानले खाएपछि बिचल्लीमा परेका छौँ । एक दर्जनभन्दा बढी चौपायासमेत हात्तीको आक्रमणले घाइते भएका छन्,” उनले बताए ।
हात्तीको डरले शिविरमा बस्नसमेत सबैजना डराएर नजिकको बस्तीमा जान थालेको उनले बताए । एक महिनादेखि हात्तीको बथान तारापुर शिविरकै ताराताल क्षेत्रमा बस्दै आएको छ ।
शिविर नजिकका जोनापुर, रानीपुर, ढकनीया लगायतका बासिन्दासमेत हात्ती आतंकमा बस्न बाध्य छन् ।