arrow

झापामा सिटौलाको आङ सिरिङ्ग पार्ने भाषण (भिडियो सहित)

लोकतन्त्रका दुस्मनहरुलाई जिताउने कि लोकतन्त्रका योद्धालाई ?

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
krishna-sitaula-mahila-sangh.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनमा लोकतन्त्रका योद्धालाई मत दिएर पुरस्कृत गर्ने कि लोकतन्त्रका दुस्मनहरुलाई मत दिएर परिवर्तनलाई धरापमा पार्ने भन्ने हात झापा क्षेत्र नं ३ का मतदातासँग रहेको बताएका छन् । सोमबार झापामा आयोजित चुनावी सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले यो चुनाव गणतन्त्रवादी र राजतन्त्रवादीबीचको प्रतिस्पर्धा भएकोले राजतन्त्र रोज्ने कि गणतन्त्र रोज्ने भन्ने अधिकार मतदातामा रहेको बताएका हुन् । 

झापामा राप्रपाको झण्डाबोक्नेहरु जनताको दुस्मन भएको भन्दै नेता सिटौलाले मुलुकले यति लामो समयको संघर्षपछि प्राप्त उपलब्धीहरु संस्थागत गर्ने हो भने रुख चिह्नमा मत दिनुको विकल्प नरहेको बताए । त्यसको लागि सबै तरुण कार्यकर्ताहरुले गाउँगाउँ र घर घरमा पुगेर यस विषयमा जागरण जगाउनु पर्ने उनको भनार्इ थियो । उनले भने 'गणतन्त्रको रक्षा गर्ने हो भने अब सबै तरुण युवाहरु घर घरमा गएर जागरण ल्याउनु पर्छ । घर घरमा एमालेलाई गएर भन्नुस तपाईको सूर्य कहाँ अस्तायो, हँसिया हथौडा कहाँ पुग्यो ? अब परिवर्तन चाहने एउटै चुनाव चिह्न बाँकी रहेको छ रुख । त्यसैले रुखमा मत दिएर परिवर्तनलाई संस्थागत गरौं ।' 

उनले हिजोसँगै चन्द्रगढीमा गोली थाप्न जाँदा मारिएका एमाले कार्यकर्ता सुरज विश्वास र काँग्रेस कार्यकर्ता राजन गिरी मारिएको स्मरण गर्दै आफ्ना मतदातासँग प्रश्न गरेका छन् 'जनताको पक्षमा गोली थाप्न जानेलाई मत दिनुहुन्छ कि जनतामाथि सिधै गोली हान्ने माथि ?' 

नेपालको १ सय ६५ निर्वाचन क्षेत्र मध्ये राप्रपा भन्ने दलले जम्मा ४ ठाउँमा उम्मेदवारी दिएको भन्दै उनले ४ ठाउँमा उठेर सिंहदरबारमा कुनै हैसियत राख्न नसक्ने दाबी गरे । चुनाव पछि काँग्रेसकै सरकार बन्ने बताउँदै उनले जनमुखी योजना बनाउने र जनताको समस्या हल गर्ने पनि काँग्रेसले नै भएकोले काँग्रेसलाई नै मत दिन पनि मतदाताहरुसँग आग्रह गरे । 

उनले झापाको सो क्षेत्रमा करिब ४ अर्बको योजना आएको दाबी गर्दै काँग्रेसलाई हराउँदा मुलुकमा र यो क्षेत्रले केही पनि पाउन नसकेको उनले दाबी गरे । उनी भन्छन् 'पहिलो संविधान सभामा तपाईहरुले काँग्रेसलाई हराउनु भयो । देशले संविधान पाउनु पर्ने थियो पाउन सकेन । त्यसपछि मैले आफूलाई जिताएमा संविधान दिने प्रतिवद्धता व्यक्त गरेको थिएँ । तपाईँहरुले जिताउनु पनि भयो । मेरै हातले संविधान दिएँ । अब तपाईहरु आफैं रोज्नुस् कसलाई रोज्ने कसलाई रोक्ने ? काँग्रेसलाई कि राप्रपालाई ?' 

उनले लोकतान्त्रिक आन्दोलनका क्रममा गोली थाप्दै गरेका हाम्रा दाजुभाइलाई सम्झन र त्यही आन्दोलनमा गोली हान्नेहरुलाई पनि सम्झिएर मत दिन आग्रह गरेका छन् । उनले नेपालमा अब कदापी राजतन्त्र फर्किन सक्दैन भन्ने पाठ झापा ३ का मतदाताले दिनुपर्ने बताएका छन् । यो स्थानीय तहको निर्वाचन नभएको भन्दै नेता सिटौलाले यसले मुलुकको परिवर्तनलाई संस्थागत गर्ने समयमा परिवर्तन विरोधीहरुलाई मत दिँदा मुलुकमा आएको परिवर्तन नै धरापमा पर्ने उनको बुझाई छ । 

काँग्रेसले मुलुकमा राणा शासन, पञ्चायत, राजा र माओवादी सबैलाई परास्त गरेको भन्दै काँग्रेसलाई सिध्याउन खोज्ने राजा आफैं सिध्यिएको स्पष्ट पारे । उनले भने  'काँग्रेसले माओवादीको हातबाट बन्दूक छुटायो । राजालाई गद्दीबाट छुटायो । पहिले काँग्रेसले हार्यो त्यतिबेला देशले हार्यो फेरि काँग्रेसले जित्यो देशले जित्यो । त्यसैले काँग्रेस कसैको सामू नेपाललाई घुँडा टेक्न दिँदैन ।' उनले नेताले गल्ती गरे भन्दैमा कार्यकर्ताले गल्ती गर्नेनभई सच्याउनुपर्ने भन्दै एमाले र माओवादीका कार्यकर्ताले पनि परिवर्तनका पक्षधरहरुलाई नेतृत्वले गरेको समर्थन काँग्रेसलाई मत दिएर सच्याउनु पर्ने तर्क गरे । 

हिजोका माओवादी र एमालेले पनि काँग्रेसलाई भोट हालेको रेकर्ड रहेको भन्दै उनले काँग्रेस नै यो देशको भविष्य बनाउने पाटी हो भनेर घरघरमा चेतना जगाउनुपर्ने बताए । 
यो जाती विशेष र क्षेत्र विशेषको पार्टी नभएको कुरा तरुणहरुले अबको तीन हप्तासम्म मतदातालाई सिकाउनुपर्ने बताएका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ