प्रकाश दाहालको निधनले पार्टीलार्इ क्षति : माओवादी केन्द्र
प्रकाशित २०७४ मंसिर ३ आइतबार
255
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टीका पोलिटब्युरो सदस्य सत्कार दाहाल (प्रकाश) को हृदयघातबाट अल्पायुमै भएको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले आइतबार जारी गरेको शोक वक्तव्यमा पार्टीले एउटा जुझारु, उदीयमान नेता र व्यवस्थापक गुमाएको उल्लेख छ । प्रवक्ता भुसालले दाहालको निधनले सिंगो पार्टी पंक्ति शोकाकुल भएको बताउँदै पार्टीको तर्फबाट उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
दाहाल पोलिब्युरो सदस्यमात्रै नभई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का र पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको एकमात्रै सुपत्र भएको वक्तव्यमा उल्लेख छ । यसबाट अध्यक्ष प्रचण्ड र सल्लाहकार दाहालसँगै सिंगो परिवारलाई परेको चोटबाट पार्टी अत्यन्त मर्माहत भएको तथा शोकको यस घडीमा अध्यक्ष प्रचण्ड र परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै वक्तव्यमा सिंगो पार्टी श्रद्धेय अध्यक्षसँगै रहेको र पुरै पार्टी पंक्ति शोकाकुल रहेको उल्लेख छ ।
स्व दाहाल सानै उमेरमा विसं २०५७ सालदेखि पूर्णकालीन भई केन्द्रीय कार्यालयमा पार्टी अध्यक्षको निजी सचिवको जिम्मेवारीमा रहनुका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा दुवै कार्यकालमा सचिवालयमा रही अत्यन्तै जिम्मेवार भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ – “युद्धकालको कठिन र संघर्षमय दिनमा पनि कहिल्यै विचलित नभई उहाँ पार्टी गतिविधिमा निरन्तर सक्रिय रहेका थिए ।” रासस