arrow

बाम होईन, आम गठबन्धनले बन्छ देश : विश्वप्रकाश शर्मा

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Bishwo_Prakash_Sharma.jpg

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य  एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट  प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले नभइ आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताएका छन् ।
 
मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत क्षेत्र नम्बर १का विभिन्न कोणसभालाई सम्बोधन गर्दै शर्माले प्रकृतिको अनुपम उपहार पाएको हाम्रो देश राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताए ।
 
‘हामीले निरन्तर यो देशमा लडाइ गर्‍यौ’ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार शर्माले भने,‘कहिले प्रजातन्त्रका लागि लडियो, कहिले पञ्चायतका विरुद्धमा लडियो, कहिले राजतन्त्र अन्त्यका लागि लडियो त कहिले माओवादी दन्द्धकालले देश १० वर्ष युद्धमा पर्यो । अब कहिलेसम्म लड्ने हो ? अब फेरी यो गठबन्धन र त्यो गठबन्धनको नाममा अर्को लडाइ लड्ने ? सबै जाति र सबै पार्टीलाई हार्दिकताका साथ एक भएर देश निर्माणमा जुट्नुको विकल्प  छैन । त्यसका लागि आम नेपालीको गठबन्धन बनाउने बेला आएको छ ।’
 
‘काँग्रेसको स्टेजमा चढेर एमालेलाई गाली गर्ने, माओवादीको स्टेजमा चढेर काङ्ग्रेसलाई गाली गर्ने, एक दलले अर्को दललाई गाली गर्ने अनि एक अर्कामा गाली गरेर नै यो देशले कहिले मुहार फेर्ने ?’ शर्माले भने,‘अब गाली गर्न बन्द गर्नु पर्छ । त्यसका लागि राजनीतिक संस्कारको विकास गर्दै सबैले आआफ्नो पार्टीका कमजोरीहरुलाई सुधार गर्दै जानुपर्छ ।’
 
सम्बोधनका क्रममा विपक्षीलाई समेत सम्मान गरेर सम्बोधन गर्ने शर्माले हामी जुन दलमा भए पनि सबैभन्दा पहिले नेपाली हो । यसकारण नेपालको विकासका लागि सबै एक जुट हुनुपर्ने बताए ।  उनले सबै दल र सबै नेपाली एक भएर काम गर्दा देशको मुहार परिवर्तन हुन समय नलाग्ने बताए ।
 
नेता शर्माले पुत्र शोकमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई  हरेक सभामा समवेदना दिइरहनुभएको छ ।
 
प्रचार अभियानका क्रममा प्रदेश (क) का उम्मेदवार केशवराज पाण्डेले देशले संविधान पाइसकेकोले अब देशलाई समृद्ध बनाउनतर्फ अघि बढ्ने समय आएको बताए ।
 
प्रदेश (ख) का उम्मेदवार अशोककुमार पोखरेलले आफु न्यायिक क्षेत्रमा लामो समय काम गरेर आएकोले जनताका हितमा सधै काम गर्न तत्पर रहेकाले अबको निर्वाचनमा आफुलाई जिताएर काम गर्ने अवसर दिन मतदाता समक्ष आग्रह गरे ।

प्रचार अभियानमा समानुपातिक उम्मेदवार तमर राई, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, महासमिति सदस्य तारावीर कटुवाल, महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बूलगायतले सम्बोधन गरेका थिए।
 
चुनावी प्रचारका क्रममा बुद्धशान्ति गाप ४ स्थित बाँझो खेत, बुद्धशान्ती ६ स्थित मोदी डाँडा, मेचीनगर ११ स्थित धुलावारी बजार, मेचीनगर १० स्थित पशु हटिया बजार, मेचीनगर ८ स्थित टोकला चिया बंगान र मेचीनगर ६ स्थित रमाईलो १ नम्बर बस्तीमा घरदैलो तथा कोणसभाको आयोजना गरिएको थियो ।
 
कोणसभामा मेचीनगर १० स्थित पशु हटिया बजारमा खेम दनुवारसहित ६ जनाले पार्टी प्रवेश गरेका थिए ।
 
कार्यक्रममा उम्मेद्वारहरुका अतिरिक्त मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, नेपाली काँग्रेसका कार्यबाहक सभापति राम कट्टेल, समानुपातिक उम्मेद्वारद्धय तम्मर राई, गोपाल तामाङ्ग , मेचीनगर वडा नम्वर १० वडा अध्यक्ष सुदेश पनेरु ,मजदूर नेता दिपक तामाङ्ग, चन्द्र बहादर खत्री लगायतले सम्वोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ