arrow

जनकपुरमा विवाह महोत्सव धुमधाम

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
janakpurdham.jpeg

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार बिहिबार भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । 

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । 

महोत्सवका लागि अहिले यहाँ श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ । जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना पनि भइरहेको छ । 

विगतमा आन्दोलन र विशिष्ट अतिथिको आगमनले विवाह महोत्सव प्रभावित भई भक्तजनको सहभागितामा हुन नसेकेकामा बिहिबार भने लाखौँ भक्तजनको सहभागिताले महोत्सव आस्थाको केन्द्र बन्न पुगेको छ । 

महोत्सवमा देवीदेवताको सहभागिता नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म मिथिलावासी सहभागी हुने गर्दछन् । 

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ । 

सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।

महोत्सवमा बिदाइका क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाहझै हुने गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ