कांग्रेस जिल्ला सभापति थापाको घरमा बम बिस्फोट, गाडिमा क्षति
प्रकाशित २०७४ मंसिर ९ शनिबार
598
Shares
झापा । झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति उद्वव थापाको घरमा गएराती बम बिस्फोट भएको छ । बिस्फोटबाट थापाले निर्वाचन प्रचार प्रसारका लागि प्रयोग गर्दै आएको बा ७ च ६८९५ नम्बरको बोलेरो जिपमा क्षति पुगेको छ ।
राती लगभग साढे १२ बजेतिर थापाको घर रहेको अर्जुनधारा ७ मा पार्किङ गरि राखेको जिपमा बम बिस्फोट भएको थियो । बम बिस्फोटबाट जिपको अगाडीको भाग पुर्ण रूपमा क्षति भएको छ । बिस्फोटबाट जिप पार्किङ गरेको घरमा पनि क्षति पुगेको सुरक्षा स्रोतले जनाएको छ । उनी नजिकैको अर्को घरमा बस्दै आएका थिए ।
बिस्फोट भएको बम कुन प्रकृतिको हो भन्ने अझै खुल्न नसकेको सुरक्षास्रोतले जनाएको छ । बिस्फोट भएको स्थानमा बमको कुनै अवसेस समेत नभेटिएकाले बमको प्रकृति थाह हुन नसकेको हो । यद्यपी, सुत्ली बम भएको आशंका सुरक्षास्रोतको रहेको छ ।
बम बिस्फोटपछि शनिवार बिहान नेपाली सेना, जिल्लास्थित राजनीतिक दल र आसन्न निर्वाचनका उम्मेदवारहरू घटनास्थलमा उपस्थित भएर बिस्फोटको निन्दा गरेका थिए । उनीहरूले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।
घटनासँगै जिल्लास्थित सुरक्षा निकायले उम्मेदवार र उनीहरूको भौतिक सम्पतिको सुरक्षाका लागि प्रभावकारी कदम चाल्ने बुझिएको छ । बिस्फोट कस्ले गराएको भन्ने खुलेको छैन । सुरक्षास्रोतले अनुसंधान शुरू गरेको जनाएको छ ।