arrow

३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मतदान हुँदै 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
election-media-centre.JPG

काठमाडौं । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । मतदानका लागि कतिपय स्थानमा मतदाता लाइन लागिसकेका छन् । 

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । 

पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् । जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ ।

यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन् । 

प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले चुनावको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातासँग आग्रह गरेका छन् । 

३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् । 

पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ।

पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ रहेका छन् । 

प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप रहेका छन् । 

प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा रहेका छन् । 

प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा रहेका छन् । 

प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा  रहेका छन् । 

प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुँदैछ । 

दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ