सिरहा । सिरहा र धनुषासँग जाडिएको कमला बाँधमा प्रहरीलाई ताकेर गोली प्रहार भएको छ । नचिनिएका व्यक्तिले कमला बाँधमा चेकपोष्ट थापेर बसेका प्रहरीलाई गोली दागेका हुन् ।
गोली लागेर दुई जना जना प्रहरी घाइते भएका छन् । गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएको बताइएको छ ।
गोली कताबाट कसले चलायो भन्ने विषयमा अहिले थाहा भइनसकेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले हाम्राकुरालाई बताए ।
नचिनिएका व्यक्तिले प्रहार गरेको गोली मागेरामको पेटमा र आदर्शको कोखमा लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाले गोली चलाएका थिए ।
घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विष्फोट भएका छन् ।
ती विष्फोटको जिम्मा कसैले लिएका छैनन् । यद्यपि, तराईमा भूमिगत गतिविधि गर्दै आएको जयकृष्ण गोइत समूहका पर्चा भेटिएका बताइको छ ।