arrow

प्रचण्डको उद्घोष : कम्युनिष्ट एकतापछि विकास रेल ईन्जिनमा कुद्छ

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
dahal_g2.JPG

माडी, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनको गतिमा अघि बढ्ने बताएका छन् ।

आइतबार चितवनको माडीमा आयोजित कोण सभामा बोल्दै प्रचण्डले भने, ‘कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै होइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हो। चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ। त्यसपछि नेपालको विकास र समृद्धिको यात्रा रेल ईन्जिनको गतिमा अघि बढ्छ।’

'जसले पैसाले भोट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्, बाँदरझुलामा आयोजित कार्यक्रममा दाहालले भने, ‘जनतालाई पैसामा किन्न खोज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्रो जीवन चल्छ ? के २–३ हजार पैसाले तपाईं हाम्रो भविष्य बन्छ ? देशमा विकास र समृद्धि हुन्छ त ? त्यसैले आफ्नो र अर्को चिनौं। जसले जिन्दगिभर जनता ठग्यो, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायो, त्यस्ताबाट सचेत हुनुस्। २–४ पैसाको लोभमा आफ्नै खुट्टामा बञ्चरो नहान्नुस्।’

ूतपाईहरुलाई थाहा भयो होला, हाम्रा एक मात्र छोरा प्रकाशको हृदयघातले निधन भयो, माडीको खरकट्टामा दाहालले भने, ‘बाबू हुनुको नाताले हामी शोकमा छौं। तर, अब मेरा लागि नेपालका प्रत्येक युवायुवती प्रकाश हुन्। सबै युवायुवती मेरा छोराछोरी हुन्। अब मेरो सम्पूर्ण जीवन तिनै छोराछोरीको भविष्य निर्माणमा खर्चिने सङ्कल्प गरेको छु। यस बीचमा तपाईहरुले देखाउनुभएको सद्भाव र सहानुभूतिका लागि म ऋणि छु।’

चुनावी अभियानका क्रममा दाहालले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयका समस्याबारे चासो राखे । चुनावी अभियानमा कलाकारहरु बद्री पङ्गेनी, चेतन सापकोटा लगायतले जनवादी गीत सङ्गीत प्रस्तुत गरे ।

आइतबार बिहानै अध्यक्ष दाहाल माडीको बाँदरमुढेमा रहेको सशस्त्र युद्धका क्रममा मृत्यु भएका नागरिकहरुको स्मृतिमा निर्मित स्मारकमा माल्यार्पण गर्न पुगे । साँझ माडीमा बाम गठबन्धनको संयुक्त युवा भेलालाई सम्बोधन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ