arrow

१८ वर्षकै उमेरमा राजनैतिक संस्कारलाई यसरी बदलेका थिए विश्वप्रकाशले (भिडियो)

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं ।  २०४५ साल वैशाख १२ गतेका दिन देशभरी सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावी परिणाम वैशाख अन्तिम साता आइसकेको थियो। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको मतपरिणामले राजनीतिक तरङ्ग पैदा गरेको थियो।

त्यहाँको प्रचलन अनुसार चुनावमा अखिल विजयी हुने नेपाल विद्यार्थी संघ हार्ने र नेवि संघको कित्ताबाट विजयी खेमामाथि आक्रमण हुने गर्थ्यो। त्यसपछि क्याम्पस बन्द हुने र एक महिना जति अशान्त क्षेत्र भएर मेची क्याम्पस बल्लतल्ल खुल्ने ‘परम्परा’ नै थियो।

त्यो चित्रलाई बदल्दै २०४५ सालको वैशाख १२ गतेको निर्वाचन परिणाम आएकै दिन नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति विश्वप्रकाश शर्माले घोषणा गरे, ‘हामी विजयी भएको अनेरास्ववियुको टिमलाई एक साता पछाडि बधाई ज्ञापन समारोह राख्ने छौं। र, यहाँको हलमा समारोह गरी बधाई ज्ञापन गर्ने छौं।’

त्यो वर्ष स्ववियु चुनावपछि पहिलेजस्तो जीतहारको कुनै भिडन्त भएन। किनभने क्याम्पस इकाई सभापति विश्वप्रकाश शर्मा थिए। उनले अगाडि नै ‘जित्नु–हार्नु लोकतान्त्रिक अभ्यास हो’ भनिसकेको थिए। शर्माको उद्घोष थियो, ‘हामी पञ्चायती व्यवस्था ढालेर त्यस्तो लोकतान्त्रिक व्यवस्था ल्याउन चाहान्छौं कि जहाँ जित्नेले हार्नेको हातबाट माला लगाउन पाउँछन्। र, हार्नेले सहयोगी भूमिका निभाउँछन्।’ शर्माले अगाडि भनेका थिए, ‘र, जित्नेले चाहिँ प्रतिपक्षलाई साथमा लिएर जिम्मेवारी पूरा गर्नेछन्।’

त्यसो भन्दै गर्दा विश्वप्रकाश शर्माले घोषणा गरेअनुसार नै भव्य कार्यक्रम भयो। विश्वप्रकाशले आफ्नै हातले ११ वटा माला विजयी भएका अखिलनिकट विद्यार्थीलाई लगाइदिए। शुभकामना आदानप्रदान भयो, अंकमाल भयो। क्याम्पसको परिस्थिति नै बदलियो। अनि सद्भाव र एकताको सन्देश दिए उनै विश्वप्रकाशले।

त्यतिबेला फेसबुकको जमाना थिएन। सामाजिक सञ्जाल थिएनन्। मिडिया पनि थिएनन्। सञ्चारको पहुँच हुँदो हो त, विश्वप्रकाशको पहलमा भएको यो कार्य राष्ट्रव्यापी समाचार बन्थ्यो।

सकारात्मक भाव राख्नेहरुलाई समाजले सजिलै स्वीकार गर्छ। हो, विश्वप्रकाश वि.सं. २०४५ सालमा पराजित भए। तर, अर्को वर्षसम्ममा उनले मेची क्याम्पसका हजारौं विद्यार्थीको मनमा बास गरिसकेका थिए। र, उनले अर्को निर्वाचनमा नेवि संघलाई जित्ने स्थितिमा पुर्याइदिए। र, पहिलो पटक मेची क्याम्पसमा नेवि संघले स्ववियुमा जीतको जग बसाल्यो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ