arrow

कम्युनिष्ट गठबन्धनको जोरजवरजस्ती विरुद्ध पुनः निर्वाचन गराउन काँग्रेसको माग

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
dolpa-district.png

दुनै । नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । 

सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मलेनमा काँग्रेसले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ, डोल्पो बुद्ध, शे–फोक्सुन्डो गाउँपालिका र तल्लो डोल्पाको काइके गाँउपालिका तथा त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत प्रकाश निमावी मतदान केन्द्र रङ्ग, सोही नगरपालिकाकै मुकुटेश्वर मतदान केन्द्र फुल्चिङ र ठूलीभेरी नगरपालिकाको तिप्ला मतदान केन्द्रमा निश्पक्ष रुपमा मतदान नभएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो ।

यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कम्युनिष्ट गठबन्धनका प्रतिनिधिले मतदाताको इच्छाविपरित जबरजस्ती आफ्नो पक्षमा मत हालेको काँग्रेसको आरोप छ । 

गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको, विपक्षी पार्टीका कार्यकर्तालाई डर, धाक धम्की देखाउँदै आफ्नो पक्षमा मत नखसाए गाउँ निकाला गर्छु भन्ने धम्की दिएर जबरजस्ती गठबन्धनको पक्षमा मत हाल्न लगाएको उसले आरोप लगाएको छ । 

ती मतदान केन्द्रमा पुनःमतदानको माग राखी मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोधार्थसहित मुद्दा दर्ता गरिएको काँग्रेस जिल्ला पार्टी सभापति अंगतकुमार बुढाले बताए । 

मतदाताको वारिसको नाममा सयौँ मत एकै व्यक्तिले खसाल्दा पनि कर्मचारी, सुरक्षा निकाय, प्रशासन, निर्वाचन कार्यालय मौन रहेकामा उनीहरुको पनि पूर्णरुपमा मिलेमतो रहेको आरोप लगाइएको छ । 

काँग्रेसले दिएको पुनः निर्वाचनको मुद्धालाई मंगबार नै काठमाडौंस्थित निर्वाचन आयोगमा पठाई सकिएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

निर्वाचनको दुई दिन अगाडि ‘एजेन्ट’ पत्र दिएर उपल्लो डोल्पा पुगेका काँग्रेसका कार्यकर्तालाई कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले कुटपिट गरी रातभरी रुखमा बाँधेर लखेटेको सभापति बुढाले जानकारी दिए । 

त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत मुकुटेश्वर मावि फुल्चिङ मतदान केन्द्रमा काँग्रेसका प्रतिनिधि अमृत सार्कीलाई निर्वाचनको दिनभर थुनछेक गरेर एकलौटी रुपमा मत खसालेको स्थानीय काँग्रेस नेता मोतीप्रसाद उपाध्यायले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ