म जिविस सभापति हुँदा जस्तो काम गुल्मीमा कसैले पनि गरेको छैन : चन्द्र के.सी.
प्रकाशित २०७४ मंसिर १३ बुधबार
524
Shares
गुल्मी । नेपाली काँग्रेसको भातृसङ्गठन नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ को आयोजनामा आज इस्मा गाँउपालिकाको रजस्थलमा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभामा गुल्मी क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार चन्द्र के.सी.को प्रमुख आतिथ्यता, सोही क्षेत्र प्रदेश नं. १ प्रदेश सभा उम्मेदवार शालिक पन्थी, नेपाली काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्काको विशेष आतिथ्यता रहेको थियो ।
चुनावी सभामा बोल्दै उम्मेदवार के.सी.ले गुल्मी जिल्लालाई विकासमा नेपालकै नमुना जिल्ला बनाउनका लागी आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले भने– तुलनात्मक रुपमा विकासको दृष्टीकोणलाई हेर्ने हो भने काँग्रेससँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन ।
अहिले यस क्षेत्रका जनताले यो क्षेत्रलाई विकासमा नमुना क्षेत्र बनाउन चाहेका छन र जनताले आफ्ना हक अधिकारलाई स्वतन्त्र र भय रहित वातावरणमा प्रयोग गर्न चाहेका छन । त्यसका लागि अहिले जनताले नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने छन भन्ने आशा व्यक्त गरेका छन् ।
उनले आफु जिविस सभापति हुँदा गरेका विकास निर्माणका कामहरु अझै पनि पुरा नभएको र त्यो भन्दा पहिले कुनै विकास निर्माणका कार्यहरु माथी कुनै पहल नभएको बताएका छन् । उनले नेपाली काँग्रेसको पहलमा भएका विकास निर्माणका काम माथी एमालेका नेता तथा कार्यकर्ताले मैले गरेको भन्दै जनता समक्ष भ्रम छर्दै हिँडेको बताएका छन् ।
उनले राजनीतिमा छिमेक होईन विचार हुन्छ, सुर्यको तोरन होईन विकासको तोरन हामी बान्छौ भनेका छन् । सभामा बोल्दै उनले भनेका छन् । देशमा अझै पनि प्रजातन्त्र आएको छैन, यहाँका जनता साँचो बोल्न डराउने हुनाले अधिनायकवाद भित्रता आफ्नो सम्पत्ति समेत आफूसँग नरहने बताएका छन् ।
प्रदेश नं. १ प्रदेश सभाका उम्मेदवार शालिक पन्थीले भने मेरो प्रदेशलाई विकासमा नमुना प्रदेश बनाउँछु । उनले भने – हामी जे बोल्छौं त्यो गर्छौ कम्युनिष्टले जस्तो जनतालाई भ्रममा पार्दैनौ । हामी जहिले पनि जनता समक्ष रहेर काम गर्ने गर्दछौं जनताको इच्छा विपरीत कुनै पनि काम गर्दैनौं ।
चुनावी सभामा बोल्दै उम्मेदवारहरुले जनता समक्ष शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातायात, खेलकुद जस्ता विकास निर्माणका कार्यलाई विशेष ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी सभामा नेकपा एमाले परित्याग गरी शँखर विश्वकर्मा सहित २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन।