arrow

राष्ट्रिय सुरक्षा नीतिमा धुलो जमेर बसेको छ, अनि कसरी हुन्छ सुरक्षा ? (कुराकानी)

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
khatiwoda.JPG

कुनै पनि विकसित मुलुकको पहिलो प्राथमिकतामा पर्छ– सुरक्षा । मानवअधिकारको अनिवार्य सर्त पनि हो– सुरक्षा । मुलुक निर्वाचनमा होमिएकै बेला चुनावविरोधी गतिविधि बढे, नागरिकको मात्र असुरक्षा बढेन, नीति निर्माताहरुको पनि सुरक्षामा चुनौति थपियो । प्रधानमन्त्री राष्ट्रिय सुरक्षाको अध्यक्षको हैसियतमा रहन्छन् । अहिले संयोगले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिराख्नुभएको छ । तर प्रधानमन्त्रीकै वरपर बम विस्फोट हुन्छ, सुरक्षाकर्मीकै निधन हुन्छ । सुरक्षाको प्रत्याभूति कसरी हुन्छ, राष्ट्रिय सुरक्षा नीति भनेको के हो ? यसको आयाम कति हुन्छन् ? यो बहुआयमिक विषय हो कि होइन ? हाम्रा नीति निर्माण तहमा बसेकाहरुलाई यसबारे कत्तिको ज्ञान छ भन्ने सन्दर्भमा हामीले सुरक्षा मामिलाका जानकार एवं जेष्ठ प्रशासक धरणीधर खतिवडासँग कुराकानी गरेका छौँ ।

० सुरक्षा भनेको के हो ?
– मुलुकको अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नु, मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म, कर्णालीको भीरमा बस्ने राउटेदेखि झापाको मेचीसम्म, हिमालको शेर्पादेखि सिराहको मुसरसम्मका नेपालीलाई भयबाट उन्मुक्ति दिँदै नेपालको संविधानको मौलिक हकको धारा १ अनुसार सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक र कानुनी प्रत्याभूति दिनु हो । भयमुक्त वातावरण बाँच्न पाउने अधिकारको ग्यारेन्टी राज्यको दायित्व हो । र, बाँच्न पाउनु नागरिकको अधिकार हो ।

० सुरक्षा बहुआयमिक विषय हो ?
– बहुआयमिक मात्र होइन, बहुपक्षीय, बहुआयामिक हुन्छ । सुरक्षा यस्तो विषय हो, जुन दीगो शान्तिको आधारशीला पनि हो । यो मानिसको शिरदेखि पुच्छरसम्म, जीवनदेखि मृत्युसम्म सुरक्षाको अवधारणा भयबाट उन्मुक्तिसँगै गाँस, बाँस र कपाससँगै परम्परागत र अपराम्परागत सुरक्षा चुनौतिबाट जनतालाई जोगाउँदै शान्ति र समृद्धिको आधारशीला खडा गर्ने राष्ट्रिय प्राथमिकताप्राप्त नीति हो, त्यो नीतिले राष्ट्रको यावत पक्षहरुलाई सकरात्मक दिशातर्फ अघि बढ्ने आधारशीला प्रदान गर्छ ।

० राष्ट्रिय सुरक्षा भनेको के हो ? यसका कति वटा आयाम हुन्छन् ?
– राष्ट्रिय सुरक्षाको मूलतः दुईवटा आयाम हुन्छन् । एउटा आन्तरिक र अर्को बाह्य सुरक्षा । भन्ने के गरिन्छ भने, बाह्य सुरक्षा भनेको आन्तरिक सुरक्षाको विस्तारित स्वरुप बाह्य सुरक्षा हो । जस्तो जुन घरमा बाबु–छोरा, नन्द–भाउजु, देवर–भाउजु र लोग्ने र स्वास्नी झगडा गर्दा छिमेकी हास्छ, त्यसैगरी मुलुकको समग्र जनतालाई विश्वासमा लिएर मुलुकलाई दीगो सुरक्षातर्फ लैजाने कुरालाई आन्तरिक सुरक्षा भनिन्छ । त्यसका पनि पाँच सातवटा सूचक हुन्छन्, महत्वपूर्ण धारहरु हुन्छन् । ती प्रत्येक धारलाई बलियो बनाएर आन्तरिक सुरक्षा सुदृढ गरिन्छ । जस्तो सबभन्दा माथि शीरमा मुलुक र मुलुकवासी हुन्छ, देशभक्तिपूर्ण सोच राखेर मुलुकको यो पुस्ता र भावी पुस्ताका लागि सुरक्षा दिनु पहिलो सूचक हो । नेपाल संसारमा एउटा मात्र देश हो, जसको १६ सय लामो खुला सीमा छ । सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्दै, मेचीदेखि महाकालीसम्म बसोबास गर्ने तराईका यावत नेपाली नागरिकलाई सिंहदरबारबाट बागडोर सम्हाल्ने सत्ताले नेपाल मेरो हो, नेपाली माटो मेरो हो भन्ने भावनाको अनुभूति दिनुपर्छ । देवनारायणको खप्पर फेरि फुट्नु भएन, फण्डिन्द्र गौतम फेरि मारिनु भएन । सुस्ता, कालापानी र लिपुलेकको हाम्रो अधिकार खोसिनुभएन । डुबान हुनुभएन । जनता आश्वस्त हुनुपर्छ । सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन, लागू औषधको कारोबारदेखि लिएर साना हातहतियारको बिगबिगी, अवैध मुद्राको तस्करी, मानव, चेलिबेटी बेचविखनको नियन्त्रण मात्र होइन, सीमा बस्ने नेपाली नागरिकको एक हल गोरु चोरी नहुने वातावरण बन्नुपर्छ । सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन आन्तरिक सुरक्षाको आन्तरिक सुरक्षाको दोस्रो महत्वपूर्ण कडी हो ।

संविधानले नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक मुलुक भनेको छ । पृथ्वीनारायण शाहले चार वर्ण ३६ जातको फुलवारी भन्नुभएको थियो । त्यसैले सामाजिक, सांस्कृतिक, जातीय, वर्गीय, लैगिक सद्भाव कायम गरेर मुलुकको आन्तरिक राष्ट्रिय एकता सम्वद्र्धन सकिन्छ भन्ने कुरा सत्ता वा प्रतिपक्षमा बस्ने वा राजनीतिक नेतृत्वको उच्च तहमा बस्ने व्यक्तिले यो मुलुकको इतिहास, भूगोल, संस्कृति, हाम्रा रितिरिवाज र पुर्खाले छोडेको विरासत, अहिलेको पुस्ताको आकांक्षा र भावी पुस्ताका लागि सुरक्षित नेपाल राख्नका लागि आन्तरिक सुरक्षाको सुदृढीकरण गर्ने मामिलामा कुनै पनि मानेमा सामाजिक, सांस्कृतिक र जातीय सद्भाव कायम राख्नुपर्छ । नत्र संसारका अन्य मुलुक चाहे त्यो श्रीलंका वा सुडान होस्, संसारको यो सुन्दर एकताको सम्वद्र्धनका लागि आन्तरिक सुरक्षाको सुदृढीकरण महत्वपूर्ण छ भन्ने कुरा अहिले नबुझेको अवस्था छ ।

० हाम्रो आन्तरिक सुरक्षा कमजोर छ ?
– राष्ट्रिय नीति बनाउने कुरो केटाकेटीको खेल होइन । राष्ट्रिय नीतिले हाम्रो राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय प्रतिबद्धता, हाम्रो भूगोल र भूराजनीतिलाई समेट्नुपर्छ । हामी छिमेकी बदल्न सक्दैनौं, हाम्रो भूराजनीति बदल्न सक्दैनौं, र मुलुकभित्रको अनेकतालाई बदल्न सक्दैनौं । त्यसकारण राष्ट्रिय नीति निर्माणमा हामी चुकेका छौं । राष्ट्रिय नीति निर्माण गर्दा राष्ट्रिय सुरक्षाको विषयलाई सरकारले उच्च प्राथमिकता र चासोको विषयमा नहेरेको मात्र होइन, आन्तरिक सुरक्षाको मूल आयाम र पक्षहरुको पहिचान गरी समस्या र चुनौतिको उत्पत्ति हुने मुहान, एउटा डाक्टरले उपचार गर्नुअघि सबै रोगको खोजी गरेजस्तै राष्ट्रिय सुरक्षाका चुनौतिहरु पहिचान गर्ने क्षमता र त्यो क्षमताका आधारमा नीति निर्माण हुन्छ । त्यो नीतिको निर्माणले तात्कालिक, अल्पकालिक र दीर्घकालिक योजना बनाउनुपर्छ । र, त्यो कार्ययोजना बनाइसकेपछि त्यसमा जिम्मेवार सुरक्षाको संगठनहरुको जिम्मेवारी र दायित्वलाई किटानीका साथ उल्लेख गरेर एउटा निश्चित टाइम फ्रेमभित्र राष्ट्रिय मानक निर्धारण गरेर प्रहरी संगठनले के गर्ने ? सशस्त्र प्रहरीले के गर्ने ? नेपाली सेनाले के गर्ने ? र, एकदमै कमजोर र निकम्मा बनेको सूचना प्रणाली भएको राष्ट्रिय अनुसन्धानको स्तरीकरण कसरी गर्ने भन्ने यावत कुराहरु समेटेर एक्यबद्धताका साथ सबै दलले गर्नुपर्छ । एउटा दलको आफ्नै, अर्को दलको आफ्नै सुरक्षा नीति हुँदैन । भारतमा दोक्लाम विवाद हुँदा प्रधानमन्त्री मोदीले लिएको स्टेन्डलाई राहुल गान्धीले विरोध गरेनन् । मुलुकको राष्ट्रिय सुरक्षाको चासो, आम सरोकारको विषय हो, त्यसमो जनताको जीवन, र स्पन्दन सबै गाँसिएको हुन्छ । हाम्रो राष्ट्रिय सुरक्षाको नीति कमजोर मात्र होइन, बनाउने कुरामै हामी चुकेका छौं ।
० ७ वर्ष लगाएर बनाएको राष्ट्रिय सुरक्षा नीति काम लाग्दैन ?

–त्यसमा प्रत्यक्ष संलग्न भएको नाताले तपाईले सोधीहाल्नु भो म बताइ दिउँ है त । उपप्रधान तथा गृहमन्त्री भीम रावल हुँदा त्यो राष्ट्रिय सुरक्षा नीति बन्यो । आज मुलुक एकात्मक संरचनाबाट संघात्मक संरचनामा जाँदै गर्दा राष्ट्रिय सुरक्षा नीति बनिसकेको अवस्थामा त्यो नीतिका गुण र दोषका आधारमा ऐन र नियमहरुमा परिवर्तन ल्याएर स्थानीय सुरक्षा दिग्दर्शनमा यो –यो काम क्षेत्रीय प्रशासकले गर्ने, यो काम प्रहरीको चिफले अथवा विभागिय प्रमुखले गर्ने, काम गर्दा त्यसमा राजनीतिक हस्तक्षेप नगर्ने भन्ने कुरा गर्नु पर्नेमा आज दुःखका साथ भन्छु त्यो सुरक्षा नीतिमा धुलो जमेर बसेको छ । राष्ट्रिय सुरक्षा नीतिबारे हामी कुनै प्रयास गर्दैनौँ । हामी चर्चा खाल्डा पुर्ने कुराको गर्छौँ, राजनीतिक गठबन्धनका कुरा गर्छौँ । हामी को भोली मन्त्री वा प्रधानमन्त्री बन्ने भन्नेको चर्चा गर्छौँ । मन्त्रीको संख्या बढाउने कुराको चर्चा गर्छौँ । सुरक्षा भूगोल र परिवेश अनुसार फरक हुन्छ । त्यो कुरालाई हामीले कहिल्यै ख्याल गरेका छैनौँ । हामीले बनाएको सुरक्षा नीतिमा धुलो जमेर बसेको छ । यो काम लगाउनका लागि जिम्मेवार व्यक्ति र उपयुक्त पात्र चयनको परम्परा बस्न जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ