arrow

नेपालमा एचआइभी र एड्सको अवस्था : साढे ३२ हजार संक्रमित

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
AIDS.jpg

काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा साढे ३२ हजारमा एचआईभी एड्स संक्रमित रहेको जनाएको छ ।

सन् २०१६ को अन्त्यसम्म नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआईभीको  संक्रमण रहेको पाईएको हो । ती मध्ये २० हजार २ हजार ३२ जना पुरुष छन् भने १२ हजार ५ सय महिला रहेका छन् ।

नेपालको कुल एचआईभी संक्रमितमध्ये ४० प्रतिशत अर्थात १४ हजार ५ सय ४४ जना मात्र एचआईभी संक्रमितहरु उपचार गरिरहेका छन् । २०२० सम्ममा सबैलाई उपचारको पहुँचमा पुर्‍याउने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा एचआईभी संक्रमणको  उच्च जोखिममा रहेका समुहमा सुईद्धारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिँगी तथा तेस्रोलिंगी,  खुला सीमाना, वैदेशिक रोजगारी र कैदीहरु रहेका छन् ।

नेपालमा खुला सिमाना, सुईद्धारा लागुपदार्थ प्रयोग, असुरक्षित यौनसम्र्पकबाट यो रोग सर्ने हुनाले जनचेतनामुलक कार्यक्रमहरु देशैभर गरिरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.विकास लामिछानेले बताए ।

सरकारले हरेक वर्ष एचआईभी संक्रमितको लागि औषधी उपचारका लागि करिब ५० करोड खर्च गर्ने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका पुर्वनिर्देशक तरुण पौडेलले बताएका छन् ।

नेपालमा सन २०३० को तुलनामा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको छ, भने ६८ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ । यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वभर ३ करोड ६७ लाख एचआईभी संक्रमण भएको अनुमान छ ।  विश्वमा करिव ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ, भने ४७ प्रतिशत बच्चामा हुने संक्रमण पनि कम भएको छ ।
नेपालले सन् २०३० सम्ममा एचआईभी एड्सको संक्रमण दर न्यून गर्ने लक्ष्य राखेको छ ।

चार महिनामा ३१ संक्रमित
एचआइभी संक्रमितको सेवाका लागि कैलालीमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा पछिल्लो चार महिनामा ३१ जना एचआइभी संक्रमित फेला परेका छन् ।

सेती अञ्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अञ्चल अस्पताल र टीकापुरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा ५५१ जनाको रगत परीक्षण गरिएको थियो ।

गत वर्ष यी दुवै सेन्टरमा एक हजार ८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो । कैलालीमा पछिल्ला केही वर्षदेखि एचआइभी संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा पछिल्लो एक दशक यता (सन् २००६ देखि हाल सम्म) एचआइभी संक्रमितको संख्या तीन हजार ४०३ पुगेकोमा दुई हजार ३७१ जनाले मात्र एआरटी सेवा लिने गरेको तथ्यांक छ ।

हाल एआरटी क्लिनिकमार्फत एक हजार १८९ संक्रमितले सेवा लिइरहेका छन् । एआरटी सेन्टरमार्फत् संक्रमितले एड्सविरुद्धको एआरटी औषधि सेवन गरिरहेका छन् ।
 

चितवनमा ८३ जना एचआइभी संक्रमित
सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४ सय ५० जनाले एचआइभी परीक्षण गराएका छन् । परीक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआइभी परीक्षण गराएका हुन् ।

समुदायमा गरिएका कार्यक्रममा एक हजार १५० जनाले एचआइभी परीक्षण गराएको उनल बताए । । सन् २०१६ मा जिल्लामा १५ हजार २२८ जनाले एचआइभी परीक्षण गराएका थिए भने ६९ जनामा संक्रमण भेटिएको सापकोटाले बताए ।

भरतपुर अस्पतालका एआरटी सेन्टरका डा उन्नत श्रेष्ठका अनुसार एचआइभी भएको शंका लाग्ने वित्तिकै अस्पताल आउनेको संख्या बढेको छ । संक्रमित पनि खुलेर आउन थालेका छन् । अहिले भरतपुर अस्पतालमा एआरटी सेवा लिने संक्रमित ७६४ जना रहेका छन् । सो सेवा लिनेमा पुरुष ३३६, महिला ३६३ र ६५ बालबालिका रहेका छन् । एक सय ३५ जना नयाँ संक्रमितले औषधि सेवन गर्न थालेका छन् । भरतपुर अस्पतालमा सम्पर्कमा रहेकामध्ये पछिल्लो एक वर्षमा ११ पुरुष र छ महिलाको मृत्यु भएको छ ।

यसैबीच चितवनमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ ३०औँ विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । भरतपुर अस्पताल, एएचएफ नेपालको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ