arrow

'म स्वाभिमानी र सम्पन्न राष्ट्रको अर्वपति हुन चाहन्छु' : चौधरी

अबको चुनौति भनेको विकासको चुनौति हो

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
chaudary.JPG

ललितपुर। नेपाली कांग्रेसका नेता एवम् आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले नेपालको अवको चुनौति विकासको चुनौति भएको बताएका छन् ।
 
कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार उपसमिति केन्द्रीय मिडिया सेन्टरले शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सामाजिक एवम् आर्थिक विकासको रोडम्याप प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
 
उनले जनताद्धारा निर्वाचित संविधानसभाले संविधान निर्माण गरी राजनीतिक व्यवस्थाको टुंगो लगाएकोले अब मुलुकको मुख्य चुनौति आर्थिक विकास र समृद्धि भएको बताए ।
 
उनले सो अवसरमा आफू नेपाली कांग्रेसमा आबद्ध हुनुको कारण पनि खोले । विगत सात दशकदेखि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका पार्टी सभापतिले गरेको आह्वानको उल्लेख गर्दै भने, “जुन पार्टीले २०४८ सालमा ल्याएको आर्थिक उदारिकरणको नीतिले देशमा असीमित आर्थिक विकासका संभावनाहरु खोलेको थियो, त्यसका सभापतिले आर्थिक अभियानमा समाहित भैदिन सम्मानपूर्वक आग्रह गरेकोले मैले सो जिम्मेवारी सहर्ष स्वीकार गरेको हु ।”
 
“सम्पन्न नेपालको अभावमा कुनै पनि उद्योगी र व्यवसायीको स्वाभिमान बाँकी रहन सक्दैन”, उनले थपे, “म स्वाभिमानी र सम्पन्न राष्ट्रको अर्वपति हुन चाहन्छु ।”
 
उनले आर्थिक उदारीकरण र विकासमा नेपाली कांग्रेसको लक्ष्य र दृष्टिकोण स्पष्ट भएको बताउदै भने,“मुलुक बनाउन ठूलो सोंच  र फराकिलो दृष्टिकोण नै चाहिन्छ,त्यो कांग्रेसबाट मात्र संभव छ ।”
 
चौधरीले आर्थिक र भौतिक विकासलाई कसरी उचाईमा पुर्‍याउने भन्ने खाका कांग्रेसले मात्रै  कोर्नसक्ने पनि बताए । ‘विकासलाई कसरी अघि बढाउने त्यसको खाका कोर्न यो चुनाव हाम्रा लागि ठूलो अवसर हो’ चौधरीले भने । उनले लोकतान्त्रिक पार्टीले मात्रै वलियो अर्थतन्त्र बनाउन सक्ने बताउदै कांग्रेसका अवका रणनीतिहरु विकास केन्द्रीत हुने स्पष्ट पारे । ‘म, राजनीति मात्रै गर्न कांग्रेससँग जोडिएको होईन’ चौधरीले भने, ‘आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ जोडिएको हो ।’
 
आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहेका उद्यमी चौधरीले सार्वजनिक गरेको नेपाली कांग्रेसको सामाजिक एवम् आर्थिक विकासको रोडम्यापमा नेपाली कांग्रेसले २०४८ सालमा अंगीकार गरेको आर्थिक उदारीकरणले पूर्वाधार र सामाजिक क्षेत्रमा आएको परिवर्तनको उल्लेख गर्दै मुलुकभित्र विकासका संभावनाहरुलाई समेटिएको छ ।
 
उनले सरकारको विकास आयोजना सञ्चालनमा समस्या रहेको बताउदै भने,“निजी क्षेत्रले आफूले शुरु गरेको आयोजनाहरु कहिले सम्पन्न हुन्छन भन्ने मिति किटान हुन्छ र त्यो मितिमा सम्पन्न पनि हुन्छन किनकी त्यसको जिम्मेवारी तोकिएको हुन्छ र त्यसबाट उ विचलित हुन पाउदैन । सरकारले गर्ने आयोजना पनि त्यही हो त्यसलाई त्यसरी नै सम्पन्न गराउन सकिन्छ,त्यसकालागि को जिम्मेवार हो त्यो चाही किटान गरिनुपर्दछ । आयोजनाहरु समयमा सम्पन्न भएमा विकासको गति स्वत बढ्न जान्छ ।”
 
उनले रोडम्यापमा प्रधानमन्त्रीको नेतृत्वमा रहेको लगानीबोर्डलाई प्रभावकारी बनाएर काम गर्न सकिने बताए । मन्त्रालय–मन्त्रालय,विभाग–विभाग र अन्तर निकायमा भएका समन्वयको अभावलाई समाधान गर्न यो संयन्त्रलाई प्रभावकारी बनाउन सकिन्छ । उनले सेजको अवधारणालाई वास्तविक रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
 
उनले सातवटा विशेष आर्थिक क्षेत्र स्थापना गरी १० लाख जनालाई रोजगारी दिन सकिने बताए । उनले महाकालीको पारीपट्टी रहेको भारतको उत्तराञ्चलको सिटकुलमा औद्योगिक केन्द्र स्थापना हुनसक्दा वारीपट्टि नेपालमा हुन नसक्ने कुनै कारण नभएको बताउदै भने, “अनुकूल वातावरण बनाइदिए उद्योगहरु आउछन, तर सबै क्षेत्रलाई सरकारले एकैखालको सुविधा दिएर कोही आउदैन, उद्योगीहरुले सुगम क्षेत्र नै रोज्दछन।”
 
उनले रेमिट्यान्समार्फत भित्रिएको नेपालीको कमाईको अधिक हिस्सा उपभोगमा खर्च भएर विदेशिएको तर्क गर्दै स्वदेशमा उद्योगधन्दा स्थापना भएमा त्यसको लाभ मुलुकले प्रत्यक्ष पाउने बताए ।
 
उनले पर्यटनको विकासको लागि निर्माणाधीन दुई र प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न आवश्यक भएको पनि बताए । यसबाहेक काठमाडौ–तराई–मधेश फाष्ट ट्रयाकको निर्माण, वीरगञ्ज–पथलैया ६ लेनको दु्रत मार्ग, भैरहवा –काठमाडौं सडक चार लेन, सुनौली–बुटबल छ लेन, बुटवल–पाल्पा तानसेन र पोखराको सडकलाई चार लेन पूर्व–पश्चिम लोकमार्ग ६ लेन, पूर्वपश्चिम रेलमार्ग स्याटालाईट  सिटी,स्मार्टसिटी भारत र चीन जोड्ने पाँचवटा दु्रतमार्ग, भारतसंगको सीमामा र चीनसंगको सीमामा विशेष निर्यात क्षेत्रको स्थापना लगायतका विषयहरु समेटिएका छन् ।
 
कार्यक्रममा कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक उद्योगपति चौधरीले नेपाली कांग्रेसले मात्र मुलुकको आर्थिक विकास र समृद्धिको नेतृत्व गर्न सक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ